एजेन्सी, साउन १७ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले यूक्रेनसँग शान्ति वार्ता जारी रहने आशा व्यक्त गरे पनि वर्तमान अवस्थामा युद्धको दिशा रूसको पक्षमा रहेको भन्दै निकट भविष्यमा युक्रेन सम्बन्धि सैन्य रणनीतिमा परिवर्तन नगर्ने चेतावनी दिएका छन ।
पुटिनको यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले यूक्रेन युद्धविरामका लागि रूसलाई ८ अगस्तसम्मको डेडलाइन दिएपछि आएको हो । यद्यपि, पुटिनले ट्रंपको समयसीमाको उल्लेख नगरी भने, “हामीले हालैका दिनहरूमा यूक्रेनसँग तीन चरणको वार्ता गरेका छौं र तिनीहरू सकारात्मक थिए । वार्ता भविष्यमा पनि जारी रहनेछ ।’
पुटिनले रूसी–बेलारूसी बैठकको क्रममा घोषणा गरे कि रूसले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल ’ओर्शेनिक’ को उत्पादन सुरु गरिसकेको छ र वर्षको अन्त्यसम्म बेलारुसमा तैनात गरिनेछ । यो मिसाइल आवाजको गतिभन्दा पाँच गुणा बढी छिटो हिँड्ने क्षमताको रहेको छ । उनले खुलासा गरे कि यस मिसाइलको प्रयोग नोभेम्बर २०२४ मा यूक्रेनमाथिको हमलामा परीक्षणस्वरूप गरिएको थियो ।
पुटिनको यो प्रेसवार्ता सेंट पीटर्सबर्ग मा बेलारूसका राष्ट्रपति लुकाशेन्को सँग संयुक्तरूपमा भएको थियो। त्यही दिन, यूक्रेनको राजधानी कीभमा भएको रूसी हवाई हमला हालसम्मकै सबैभन्दा भयानक भएको बताइएको छ। यो हमलामा २८ जनाको मृत्यु, जसमा २ बालबालिका पनि परेका छन्, साथै १५० भन्दा बढी घाइते भएका छन्।
रूसले यो आक्रमणमा ३०९ ड्रोन र ८ मिसाइलको प्रयोग गरेको बताइएको छ। २७ स्थानमा आक्रमण भएको र भत्किएको संरचनाको भग्नावशेषबाट अहिलेसम्म मानव शव र घाइतेहरू निकालिने क्रम जारी छ। युक्रेनी प्रधानमन्त्री यूलिया स्वीरिडेन्को ले ‘एक्स’ (पूर्व ट्विटर) मा लेखेअनुसार १५० भन्दा बढी घाइते अस्पतालमा भर्ना गरिएका छन्।
युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेंस्कीले भनेका छन्, “युद्धविराम भए पनि रूसका आक्रामक गतिविधि बन्द हुनेवाला छैनन्। जबसम्म क्रेमलिनमा सत्ताको परिवर्तन हुँदैन, त्यहाँबाट आउने खतरा टर्दैन।“ उनले पश्चिमी मुलुकहरूलाई आह्वान गरे कि रूसमा सत्ता परिवर्तनका लागि सहकार्य गर्न आवश्यक छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले कीभमाथिको रूसी हमलालाई “रूसको घिनलाग्दो आचरण“ भनेका छन्। यद्यपि उनले नयाँ प्रतिबन्ध कहिले लागू गर्ने भन्ने खुलाएका छैनन्। उनले भने, “यदि ८ अगस्टसम्म रूसले यूक्रेनसँग शान्ति सम्झौता गरेन भने, अमेरिका रूसमाथि थप आर्थिक दबाव सिर्जना गर्नेछ।“
रूस–यूक्रेन युद्ध अझ गम्भीर रूप लिन थालेको छ। एकातिर शान्ति वार्ताको संकेत, अर्कोतिर हाइपरसोनिक मिसाइल र भीषण हमला – यी सबैले स्पष्ट गर्छ कि युद्ध सकिने आस फिलहाल टाढा देखिन्छ। अब अन्तर्राष्ट्रिय समुदायले यथार्थ मूल्यांकनसहित दृढ रणनीति तय गर्नु आवश्यक छ।




