तेजस्वी यादवलाई निर्वाचन आयोगको नोटिस

मतदाता परिचयपत्र विवाद चुलियो


एजेन्सी
पटना, साउन १९ । आफनो नाम मतदाता सूचिबाट हटाएको आरोप लगाएका बिहार विपक्षीदलका नेता तेजस्वी यादवलाई निर्वाचन आयोगले नोटिस जारी गरेको छ ।

दीघा विधानसभा निर्वाचन निबंधक अधिकारीले उनलाई नोटिस पठाउँदै मतदाता सूचिबाट नाम हटाएको भनि दिएको अभिव्यक्ति सम्बन्धमा स्पष्टिकरण माग गरेका छन् । नोटिसमा उल्लेख छ कि यादवले सार्वजनिक गरेको मतदाता परिचयपत्र आयोगद्वारा आधिकारिक रूपमा जारी गरिएको प्रमाण छैन । आयोगले उनीसँग सो कार्डको मूल प्रति र अन्य जानकारी माग्दै अनुसन्धान गर्ने जनाएको छ ।

विवादलाई थप स्पष्ट पार्ने प्रयास गर्दै पटना जिल्ला अधिकारी एस.एन. त्यागराजनले यादवको नाम मतदाता सूचीमा यथावत रहेको बताएका छन् । उनका अनुसार पहिले तेजस्वी यादवको नाम मतदान केन्द्र संख्या १७१ मा थियो, जुन अहिले सरेर केन्द्र संख्या २०४, बिहार पशु विज्ञान विश्वविद्यालय पुस्तकालय भवन, क्रम संख्या ४१६ मा राखिएको छ । उनले मतदाता सूचीको प्रतिलिपि सार्वजनिक गर्दै त्यसमा तेजस्वी यादवको नाम र फोटो देखाइएको पुष्टि गरेका छन्।

यस अघि विपक्षी दलका नेता तेजस्वी यादवले एक पत्रकार सम्मेलनमा आफनो नाम मतदाता सूचीबाट हटाइएको दाबी गरेका थिए । उनले आफ्नो घरमै आएर बिएलओ (ब्लक लेभल अफिसर) ले भौतिक रूपमा सत्यापन गरेपनि, निर्वाचन आयोगको वेबसाइटमा नो रेकर्ड फाउन्ड देखाइएको बताएका थिए । उनले उक्त साइटबाट जानकारी निकाल्दै आफ्नो मतदाता परिचयपत्र २९१६१२० समेत सार्वजनिक गरेका थिए ।

यस प्रकरणमा एनडीए नेताहरूले कडा प्रतिक्रिया दिएका छन्। उनीहरूले तेजस्वी यादवमाथि फर्जी मतदाता परिचयपत्र राखेको आरोप लगाउँदै एफआईआर दर्ता गर्न माग गरेका छन् । यो विषयले बिहारको राजनीतिक गर्मी बढाएको छ र विपक्षीहरूबीच नयाँ बहस सुरु भएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमवार ०७:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको