अमेरिका मुस्लिम ब्रदरहुडलाई आतङ्कवादी संगठन घोषणा गर्ने तयारीमा



एजेन्सी, साउन १९ । अमेरिकाले इस्लामिक संगठन मुस्लिम ब्रदरहुडलाई आतंकवादी संगठन घोषणा गर्ने अन्तिम तयारीमा पुगेको छ । यसका लागि अमेरिकी कांग्रेसमा एक द्विदलीय विधेयक पेश गरिएको छ जसलाई राष्ट्रपति कार्यालय (ह्वाइट हाउस) को समर्थन प्राप्त भएको छ । यससँगै, मुस्लिम ब्रदरहुडलाई आतंकको वैचारिक स्रोत मान्दै उसमाथि प्रतिबन्ध लगाउने देशहरूको सूचीमा अमेरिका पनि सामेल हुने सम्भावना देखिएको छ।

जुलाई महिनामा रिपब्लिकन पार्टीका सांसद मारियो डियाज–बलार्ट र डेमोक्र्याटिक पार्टीका सांसद जेरेड मोस्कोविट्ज द्वारा प्रस्तुत विधेयकले मुस्लिम ब्रदरहुडलाई विदेशी आतंकवादी संगठनको रूपमा मान्यता दिन प्रस्ताव गरेको हो।

वाशिङटनस्थित क्यापिटल इन्स्टिच्युटको रिपोर्टअनुसार, मुस्लिम ब्रदरहुडले राजनीतिक आन्दोलनको आवरणमा रहे पनि वास्तविकतामा हमास, अलकायदा जस्ता संगठनहरूलाई वैचारिक कट्टरपन्थको स्रोत प्रदान गर्दै आएको दाबी गरिएको छ।

ह्वाइट हाउसले हालै यो विषयमा औपचारिक पुष्टि गर्दै मुस्लिम ब्रदरहुडमाथि कडा कदम उठाउने संकेत दिएको छ। रिपोर्टअनुसार, मिस्त्र, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र जोर्डनले यस संगठनलाई राष्ट्रिय सुरक्षाका लागि खतरा मान्दै पहिले नै प्रतिबन्ध लगाइसकेका छन्।

सन् २०१५ देखि प्रयासरत सिनेटर टेड क्रूजको टिप्पणी

अमेरिकी सिनेटर टेड क्रूज ले सन् २०१५ यता नै मुस्लिम ब्रदरहुडलाई आतङ्कवादी सूचीमा राख्न माग गर्दै विधेयकहरू दर्ता गर्दै आएका छन्। उनको भनाइ अनुसार, यो निर्णय केवल प्रतीकात्मक मात्र नभई अमेरिकाको सुरक्षा रणनीतिको हिसाबले अत्यन्त महत्वपूर्ण छ।

रिपोर्टमा उल्लेख गरिएको छ कि अमेरिका पहिले नै हमासलाई आतङ्कवादी संगठनको सूचीमा राखिसकेको छ, तर त्यसको मूल वैचारिक स्रोत मानिएको मुस्लिम ब्रदरहुडमाथि चाहिँ हालसम्म प्रत्यक्ष कारबाही भएको थिएन। यो संगठनले अमेरिकाभित्रै बसेर आफ्नो प्रभाव विस्तार गरिरहेको बताइएको छ।

अमेरिकामा मुस्लिम ब्रदरहुडलाई आतङ्कवादी संगठन घोषणा गर्ने प्रक्रिया नयाँ मोडमा पुगेको छ। यदि प्रस्तावित विधेयक पारित भयो भने, यसले न केवल संगठनमाथि कडा नियन्त्रण ल्याउनेछ, तर अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धहरूमा पनि गहिरो असर पार्नेछ।

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमवार ०७:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको