एजेन्सी, साउन १९ । रूसको सुदूरपूर्वी क्षेत्रमा अवस्थित कामचाट्का द्वीपमा रहेको क्रशेनिनिकोभ ज्वालामुखीले ५०० वर्षपछि पुनः विस्फोट गरेको पुष्टि भएको छ। रूसी आपतकालीन मामिला मन्त्रालयले आइतबार यसबारे औपचारिक जानकारी दिएको हो। विस्फोट २ अगस्टमा भएको थियो।
यसअघि १५ औं शताब्दीमा मात्र यो ज्वालामुखी सक्रिय भएको र त्यसयता शान्त रहेको बताइएको छ। बीबीसीले उद्धृत गरेअनुसार, यो विस्फोटपछि करिब ६,००० मिटर उचाइसम्म खरानीको मुस्लो आकाशमा फैलिएको थियो, जसका कारण हवाई मार्ग (एयरस्पेस) अस्थायी रूपमा बन्द गर्नुप¥यो।
भूगर्भशास्त्रीहरूका अनुसार यो ज्वालामुखी विस्फोट कामचाट्का क्षेत्रमा हालै गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्छ। ‘भल्केनिक इरप्सन रेस्पोन्स टिम’ प्रमुख ओल्गा गिरिनाका अनुसार चार दिनअघि गएको उक्त भूकम्पले भूगर्भीय सक्रियता बढाएको र त्यसले विस्फोट निम्त्याएको सम्भावना रहेको बताइएको छ।
कामचाट्का क्षेत्र ‘रिंग अफ फायर’ भनिने भूगर्भीय रूपले अत्यन्त सक्रिय क्षेत्रमा पर्छ। यो क्षेत्र चारैतिरबाट विभिन्न टेक्टोनिक प्लेटहरूको संधिमा पर्ने भएकाले यहाँ भूकम्प, सुनामी र ज्वालामुखी विस्फोट बारम्बार हुने गर्छन्। वैज्ञानिकहरूका अनुसारः
कामचाट्कामा गएको ८.८ म्याग्निच्युडको भूकम्पलाई वैज्ञानिकहरूले विश्वकै छैठौं शक्तिशाली भूकम्प मानिरहेका छन्। त्यसपछि भएको ज्वालामुखी विस्फोटले परिस्थिति थप जटिल बनाएको छ। भूकम्पपछिः जापानले फुकुशिमा परमाणु रिएक्टर खाली गराएको थियो। लाखौं मानिसहरूलाई सुरक्षित स्थानमा सार्न आदेश दिइएको थियो।
अमेरिका, जापान र चिली लगायत देशहरूले सुनामी चेतावनी जारी गरेका थिए।
बीबीसीका अनुसार, जुलाई महिनामै कामचाट्का नजिकैको समुद्रमा ६ वटा शक्तिशाली भूकम्प आइसकेका छन्। तीमध्ये दोस्रो ठूलो भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड थियो।
स्मरणीय छ, सन् १९५२ नोभेम्बर ४ मा कामचाट्कामा ९ म्याग्निच्युडको भूकम्प गएको थियो जसले ९ मिटरभन्दा अग्लो छाल उठाएको थियो, तर त्यतिबेला जनधनको क्षति भने खास देखिएको थिएन।




