अमेरिका ‘टैरिफ’ मार्फत विकासशील देशहरूमा हस्तक्षेप गर्दैछ : रुस



एजेन्सी, साउन २० । रूसले अमेरिका ‘टैरिफ’ मार्फत विकासशील देशहरूमा हस्तक्षेप गरि रहेको आरोप लगाएको छ । अमेरिका माथि ‘ग्लोबल साउथ’ भनिने विकासशील देशहरूलाई निशाना बनाउँदै नव उपनिवेशवादी नीति अपनाएको दावी रुसले गरेको छ ।

रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको टैरिफ नीतिलाई “विकासशील देशहरूको सार्वभौमिकतामाथिको प्रत्यक्ष अतिक्रमण” भनेकी छिन्।

रुसले स्पष्ट रूपमा अमेरिकी नीतिहरू “राजनीतिक रूपमा प्रेरित संरक्षणवाद“ भएको आरोप लगाएको छ।
जखारोभाले भनिन् , “अमेरिका वर्चस्व कायम राख्न विकासशील देशहरूलाई आर्थिक दबाबमा राख्न खोज्दैछ । टैरिफ र प्रतिबन्धहरूमार्फत उनीहरूको आन्तरिक मामिलामा हस्तक्षेप भइरहेको छ।”

उनका अनुसार अमेरिकाले स्वतन्त्र राष्ट्रहरूको राजनीतिक इच्छालाई उपेक्षा गर्दै आर्थिक दबाब र व्यापार अवरोधहरूको प्रयोग गरिरहेको छ ।

ग्लोबल साउथ भन्नाले विश्वका अफ्रिका, एशिया, र ल्याटिन अमेरिकाका विकासशील र कमजोर अर्थतन्त्र भएका देशहरू जनाइन्छ, जसले औद्योगिक राष्ट्रहरूसँग समान प्रतिस्पर्धा गर्न गाह्रो मान्छन्।

रूसले यी देशहरूसँगको सम्बन्ध विस्तार गर्ने घोषणा गर्दै Brics समूहको उल्लेख गरेको छ। ब्रिक्स (ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका) मा हालै मिस्र, इथियोपिया, इरान, युएई जस्ता देशहरू समावेश भइसकेका छन् र २०२५ मा इन्डोनेसिया पनि सहभागी हुँदैछ।
जखारोभाले भनिन् , “हामी यी देशहरूसँग सहकार्य गरेर एक वास्तविक बहुपक्षीय, निष्पक्ष, र समान विश्व व्यवस्था बनाउन चाहन्छौं।”
उनका अनुसार अवैध एकतर्फी प्रतिबन्धहरू विरुद्ध सामूहिक रूपमा उभिने समय आइसकेको छ।

जखारोभाले चेतावनी दिँदै भनिन् कि अमेरिकाको यस्तो नीति वैश्विक आपूर्ति शृंखलामा अवरोध, आर्थिक मन्दी, र विश्व बजारमा अस्थिरता ल्याउने खालको छ। “पश्चिमले कहिल्यै प्रवद्र्धन गरेको मुक्त व्यापारको सिद्धान्तबाट अमेरिका आफैँ विचलित हुँदैछ,“ उनले भनिन्।
उनले भनिन् , अमेरिका संरक्षणवादको नाममा टैरिफ लगाएर व्यापारिक स्वतन्त्रतालाई समाप्त गर्न लागिरहेको छ।

प्रकाशित मिति: २०८२ श्रावण २०, मंगलवार ०८:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको