एजेन्सी, साउन २२ । बिहार प्रतिपक्षका नेता तेजस्वी यादवले एक अगस्तमा प्रकाशित प्रारूप मतदाता सूचीमा आफूलाई मतदाता सूचीमा समावेश नगरिएको दाबी गर्दै जुन इपिक नम्बर (मतदाता फोटो परिचय पत्र) देखाएका थिए, त्यसको सत्यता जाँच गर्न निर्वाचन आयोगले प्रक्रिया अघि बढाएको छ।
यसै सन्दर्भमा बुधबार दीघा विधानसभा निर्वाचन क्षेत्रका निर्वाचक निबंधन पदाधिकारी तथा अनुमंडल पदाधिकारीले तेजस्वी यादवलाई पुनः पत्र पठाउँदै उनीद्वारा उल्लेख गरिएको इपिक नम्बर आरएबी २९१६१२० भएको मतदाता परिचय पत्रको मूल प्रति उपलब्ध गराउन आग्रह गरेका छन् । तीन दिनअगाडि पठाइएको पत्रको सन्दर्भमा हालसम्म कुनै आवश्यक कागजात नपुगेको भन्दै, यो पटक ८ अगस्ट साँझसम्म विवरण पेश गर्न भनिएको छ ।
निर्वाचन आयोगका अनुसार तेजस्वी यादवको आधिकारिक इपिक नम्बर आरएबी ०४५६२२८ हो, जसको प्रयोग उनले सन् २०१५ र २०२० को बिहार विधानसभा चुनावमा गरेका थिए । उनले हालसालै प्रेस सम्मेलन मार्फत देखाएको आरएबी २९१६१२० नम्बरको कार्ड प्रारम्भिक अनुसन्धान अनुसार अधिकृत रूपमा जारी भएको देखिँदैन ।
अब आयोगले सो नम्बरको कार्ड कहिलेदेखि र कसरी जारी भयो भन्नेबारे छानबिन गर्ने जनाएको छ । उक्त नम्बरमा जारी कार्ड यदि वैध भएको खण्डमा, त्यसका लागि मतदाता नामावली फारम–६ मार्फत आवेदन दिइएको थियो वा होइन भन्नेबारे समेत जाँच गरिनेछ ।
१ अगस्तमा प्रारूप मतदाता सूची प्रकाशित भएपछि, २ अगस्तमा तेजस्वी यादवले पत्रकार सम्मेलन गर्दै उक्त सूचीमा आफ्नो नाम नरहेको आरोप लगाए । सो क्रममा उनले आरएबी २९१६१२० नम्बरको इपिक कार्ड देखाएका थिए । तर निर्वाचन आयोगले यस दाबीलाई खारेज गर्दै उनीको नाम मतदान केन्द्र संख्या २०४, क्रमांक ४१६ मा दर्ता रहेको स्पष्ट पारेको थियो।
तेजस्वी यादवले देखाएको इपिक नम्बर आरएबी २९१६१२० आयोगको गत १० वर्षको अभिलेखमा नरहेको पुष्टि गरिएको छ । आयोगको अभिलेखअनुसार उनले विगतमा प्रयोग गरेको नम्बर आरएबी ०४५६२२८ नै वैध र प्रयोगमा रहेको हो, जुन नम्बरमार्फत उनी अघिल्ला दुई निर्वाचनमा उम्मेदवार बनेका थिए।
अब आयोगले तेजस्वी यादवले उल्लेख गरेका वैकल्पिक कार्डको सत्यता प्रमाणित गर्न माग गरिरहेको छ । यदि त्यो कार्ड वैध नठहरिएमा, यसको स्रोत र प्रयोजनबारे थप अनुसन्धान गरिनेछ।




