एजेन्सी, साउन २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुस-युक्रेन युद्ध रोकिएन भने गम्भीर परिणाम हुने चेतावनी दिएका छन ।
ट्रम्पले भनेका छन ,‘ यदि रुसले युक्रेनमा युद्धविरामका लागि सहमति जनाएन भने उसले गम्भीर परिणाम भोग्नु पर्नेछ ।’ ट्रम्प र पुटिनबीच १५ अगस्टमा अमेरिकाको अलास्कामा भेटवार्ता हुने तय भएको छ, जसमा रुस–युक्रेन युद्ध अन्त्य गर्ने उपायहरूबारे छलफल हुनेछ।
ट्रम्पका अनुसार, यो युद्ध “जो बाइडेनको युद्ध” हो र उनले अतीतमा पाँच वटा युद्ध अन्त्य गरिसकेका छन्। उनले आफ्नो उद्देश्य यस युद्धलाई पनि समाप्त गर्नु रहेको बताए।
मिडियासँगको कुराकानीमा एक पत्रकारले प्रश्न गरे – यदि पुटिनले वार्तापछि पनि युद्ध अन्त्य नगरे भने के हुनेछ? त्यसमा ट्रम्पले उत्तर दिए, “हो, त्यसका परिणामहरू हुनेछन ्। मलाई परिणामको प्रकारबारे केही भन्नु आवश्यक छैन, तर ती धेरै गम्भीर हुनेछन् ।” उनले थपे कि पुटिनले युद्धविराममा सहमति नजनाए रुसले “बढी कठोर अमेरिकी प्रतिबन्ध” को सामना गर्नुपर्नेछ ।
ट्रम्पले अमेरिकाले विगतमा इरानको परमाणु क्षमता नष्ट गरेको उदाहरण दिँदै भने, “हामीले इरानको क्षमतामा प्रहार गरेर देखाएका छौं कि जब अमेरिका दृढ हुन्छ, परिणाम स्पष्ट हुन्छ।”
ट्रम्पले भने कि यदि अलास्कामा पुटिनसँगको पहिलो बैठक सफल रह्यो भने छिट्टै दोस्रो बैठक पनि आयोजना गरिनेछ। उनले राष्ट्रपति पुटिन, युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलिन्स्की र आफ्नो उपस्थितिमा त्रिपक्षीय वार्ता हुने सम्भावना खुला राखेका छन्।
ट्रम्पले युद्धको जिम्मेवारी वर्तमान अमेरिकी प्रशासनमाथि आरोप लगाउँदै भने, “यो बाइडेनको युद्ध हो। उनले यो थाम्न सकेनन् र यो बिग्रँदै गइरहेको छ।” उनले दाबी गरे कि आफ्नो कार्यकालमा उनले धेरै युद्ध समाप्त गरेका थिए र अहिले पनि तीव्र वार्ताको माध्यमबाट रुस–युक्रेन संघर्ष अन्त्य गर्न सक्छन्।
अमेरिकी प्रशासनले युक्रेन युद्धमा रूसमाथि पहिले नै कडा आर्थिक र व्यापारिक प्रतिबन्ध लगाइसकेको छ। तर ट्रम्पको यो चेतावनीले देखाउँछ कि यदि युद्ध जारी रह्यो भने आगामी प्रतिबन्ध अझ गहिरो र लक्षित हुनेछन्, जसले रुसको अर्थव्यवस्था र अन्तर्राष्ट्रिय व्यापारलाई थप क्षति पु¥याउन सक्छ।
अलास्कामा हुने बैठकलाई अन्तर्राष्ट्रिय स्तरमा निकै महत्वपूर्ण रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार, यदि ट्रम्प–पुटिन वार्ताले सकारात्मक परिणाम दियो भने यो युद्धविरामको दिशामा ठुलो कदम हुनेछ। तर असफलता भएमा पूर्व–पश्चिम सम्बन्ध अझ तनावपूर्ण बन्ने चेतावनी दिइएको छ।
यसैबीच, युक्रेनले भने आफ्नो सार्वभौमिकता र भूमि रक्षा गर्ने अडान दोहोर्याएको छ। राष्ट्रपति जेलिन्स्कीले कुनै पनि वार्ता आफ्नो देशको हित र राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर मात्र हुने बताएका छन्।




