एजेन्सी
तेल अवीव (रॉयटर्स), साउन ३० । इजरायलको अति दक्षिणपन्थी दलका मन्त्री तथा वित्त मन्त्री बेजालेएल स्मोट्रिचले फलस्तीनी बहुल वेस्ट बैंकको विभाजन गरी त्यहाँ यहूदी बस्ती बसाल्ने योजना छिट्टै कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् । लामो समयदेखि रोकिएको यो योजना अन्तर्गत पूर्वी यरुशलमलाई फलस्तीनी बहुल क्षेत्रबाट अलग गरिनेछ । यस कदमले स्वतन्त्र फलस्तीन राष्ट्रको गठनको सम्भावना स्थायी रूपमा समाप्त हुने चेतावनी दिइएको छ ।
स्मोट्रिचका अनुसार, वेस्ट बैंक विभाजनको यो योजना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुवैले समर्थन गरेका छन्।
फलस्तीनी प्राधिकरण र अन्य संगठनहरूले इजरायल सरकारको यस निर्णयको तीव्र निन्दा गर्दै भनेका छन् कि यसरी वेस्ट बैंकको विभाजन गरिएमा कुनै पनि शान्ति योजना कार्यान्वयन हुन सक्दैन।
यो योजनाअनुसार वेस्ट बैंकमा यहूदीहरूका लागि ३,४०१ आवासीय घर निर्माण गरिनेछ। फलस्तीनी बस्तीबीच निर्माण हुने यी बस्तिहरूका कारण वेस्ट बैंकमा जनसंख्याको अनुपात परिवर्तन हुँदै गएको छ। अन्तर्राष्ट्रिय समुदायले यी बस्तिहरूलाई अवैध घोषणा गर्दै वेस्ट बैंकमा इजरायलको कब्जा गैरकानूनी भएको ठहर गरिसकेको छ, तर इजरायलले आलोचनालाई बेवास्ता गरेको छ।
अरब राष्ट्रहरूको संगठन अरब लीग ले इजरायली प्रधानमन्त्री नेतान्याहूको “ग्रेटर इजरायल” सम्बन्धी अभिव्यक्तिको विरोध गरेको छ। नेतान्याहूको भनाइअनुसार उक्त ग्रेटर इजरायलमा छिमेकी अरब मुलुकका केही भागहरू समेत पर्छन्। अरब लीगले यसलाई अरब देशहरूको सार्वभौमिकतामा आक्रमण बताउँदै क्षेत्रीय सुरक्षा र स्थिरतामा गम्भीर असर पार्ने चेतावनी दिएको छ।
मिस्रले पनि छुट्टै वक्तव्य जारी गर्दै यस प्रकारका योजना र अभिव्यक्ति क्षेत्रीय शान्तिका लागि खतरनाक हुने चेतावनी दिएको छ।
यसबीच, इजरायलको विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघको हालको निर्णयको स्वागत गरेको छ, जसअनुसार हमासलाई सशस्त्र संघर्षमा यौन अपराध गर्ने समूहहरूको “कालो सूची” मा राखिएको छ। इजरायलले यसलाई ७ अक्टोबरपछिका अत्याचारहरूको ढिलो भए पनि आधिकारिक मान्यता भएको प्रतिक्रिया दिएको छ।
विदेश मन्त्रालयका अनुसार, हमासका लडाकुहरूले मानव इतिहासमा ज्ञात केही सबैभन्दा भयानक यौन अपराध गरेका छन् र संयुक्त राष्ट्रसंघले अब यसलाई औपचारिक रूपमा स्वीकार गरेको छ।




