एजेन्सी, भदौ ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई युक्रेन युद्धबाट पछि हटाउन थप दबाब सिर्जना गर्ने उद्देश्यसहित भारतमाथि कडा व्यापारिक प्रतिबन्ध लगाएको जनाएका छन् । ह्वाइट हाउसकी प्रेस सचिव कैरोलिन लिविटले मंगलबार (स्थानीय समय) एक पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै भारतमाथि ट्यारिफ दोब्बर बनाइएको घोषणा गरिन् ।
लिविटका अनुसार, ट्रम्प प्रशासनले पहिले नै भारतमाथि २५ प्रतिशत ट्यारिफ तोकेको थियो । तर अब त्यहीमा थप २५ प्रतिशत थपेर कुल ५० प्रतिशत ट्यारिफ लागू गरिएको छ । उनका अनुसार, “राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्न भारतको जनता र नेतृत्वमाथि जबरजस्त दबाब सिर्जना गरेका छन् । यस कदमको मुख्य उद्देश्य रूसलाई थप आर्थिक दबाबमा पार्नु हो ।”
अमेरिकाले भारतलाई रूससँग नजिकिँदै गएको आरोप लगाउँदै आएको छ। विशेषगरी रूसी तेल किन्ने र वैकल्पिक व्यापारिक सम्बन्ध विस्तार गर्ने भारतको रणनीतिप्रति ट्रम्प प्रशासन असन्तुष्ट छ । लिविटका अनुसार, ट्रम्पले भारतलाई दबाबमा राखेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि सीधै प्रभाव पार्ने योजना बनाएका हुन् ।
लिविटका अनुसार, राष्ट्रपति ट्रम्प अहिलेको मुख्य प्राथमिकता युद्धलाई सकेसम्म चाँडै अन्त्य गर्नु हो। उनले भनिन्, “राष्ट्रपति अगाडि बढ्न चाहनुहुन्छ र छिट्टै शान्ति स्थापना गर्न चाहनुहुन्छ।
ह्वाइट हाउसले स्पष्ट पारेको छ कि संयुक्त राज्य अमेरिका र ट्रम्प प्रशासन रूस र युक्रेन दुवैसँग मिलेर वार्ता सम्भव बनाउन काम गरिरहेका छन्। लिविटले भनिन्, “शान्ति स्थापित गर्न राष्ट्रपति ट्रम्पले निरन्तर प्रयास गर्नुभएको छ।
विश्लेषकहरूको भनाइमा, भारतमाथि लगाइएको नयाँ ट्यारिफले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप तनावग्रस्त बनाउन सक्छ। भारतले यसअघि नै यस्तो कदमलाई “अन्यायपूर्ण र असंगत” भनेको छ। तर अमेरिकी प्रशासन भने आफ्नो रणनीतिमा दृढ देखिएको छ।
यस घटनाक्रमसँगै विश्व राजनीति फेरि नयाँ मोडमा पुगेको छ, जहाँ अमेरिका, रूस, युक्रेन र भारतबीचको सम्बन्धले आगामी दिनमा ठूलो असर पार्ने देखिन्छ।




