एजेन्सी, भदौ ५ । गाजामा युद्धविरामको सम्भावनाबारे छलफल भइरहेका बेला इजरायलले फेरि ठूलो सैन्य अभियान को तयारी अघि बढाएको छ। प्रधानमन्त्री बेंजामिन नेतान्याहू नेतृत्वको सरकारले ६० हजार रिजर्भ सैनिकलाई योगदानका लागि बोलाएको छ। इजरायलले गाजा पट्टीको सबैभन्दा ठूलो शहर गाजा सिटीमाथि नियन्त्रण कायम गर्ने घोषणा समेत गरिसकेको छ।
यसैबीच, इजरायली सरकारले वेस्ट बैंकलाई विभाजन गर्ने योजनालाई पनि स्वीकृति दिएको छ, जसलाई लिएर क्षेत्रीय तनाव अझ बढ्ने अनुमान गरिएको छ।
इजरायली सेनाका अनुसार, रक्षा मन्त्रीले गाजामा नयाँ सैन्य अभियान चलाउने योजनालाई स्वीकृति दिएका छन्। यस अभियानअन्तर्गत विशेषगरी घना बस्ती भएका इलाकामा जमीनी कारबाही हुनेछ। सेनाको भनाइमा, यी क्षेत्रहरुमा नै हमासका लडाकुहरु आफ्नो हतियारसहित लुकेर बसेका छन्। त्यस्तै, त्यहीँ कतिपय इजरायली नागरिकलाई बन्धक बनाएर राखिएको अनुमान छ, जसमा करिब २० जना अझै जीवित भएको आशंका गरिएको छ।
गाजा सिटीलाई हमासको मुख्य गढ मानिन्छ। शहरमुनि रहेको सुरुङको ठूलो जालो मार्फत लडाकुहरु लुकेको विश्वास गरिएको छ। यही कारण सेनाले अहिलेसम्म त्यहाँ ठूला जमीनी कारबाही गर्न सकेको छैन। यस क्षेत्रमा कारबाही गर्दा भारी जनधनको क्षति हुने सम्भावना पनि प्रबल रहेको छ।
हाल इजरायली सेनाले करिब २० हजार रिजर्भ सैनिकसहित गाजामा कारबाही चलाइरहेको छ। तर, करिब २२ महिनादेखि जारी संघर्षका बाबजुद सेना पूर्ण नियन्त्रण कायम गर्न असफल भएको छ। अहिलेसम्म गाजाको करिब २५ प्रतिशत भूभागमा मात्र सेना प्रवेश गर्न सफल भएको छ।
यद्यपि, वायुसेनाले लगातार हवाई आक्रमण गरिरहे पनि त्यसबाट हमासलाई पूर्ण रुपमा कमजोर पार्न सकिएको छैन।
मानवअधिकार समूहहरुले भने यस नयाँ अभियानबाट गाजाको अवस्था अझ जटिल हुने चेतावनी दिएका छन्। गाजा हालैदेखि नै खाना, पानी, औषधि र इन्धनको भीषण अभावमा छ। यसैबीच, यदि घना बस्ती भएका क्षेत्रहरुमा ठूला आक्रमण भए, त्यहाँ नागरिक हताहतको दर अत्यन्तै उच्च हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय संस्थाहरुले चेतावनी दिएका छन्।




