एजेन्सी
कराची, भदौ ६ । पाकिस्तानको आर्थिक राजधानी कराचीमा बिहीबार साँझ एक भीषण विस्फोट हुँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । यो घटना ताज मेडिकल कम्प्लेक्स नजिकैको घना बस्तीमा रहेको एक गोदामको बेसमेन्टमा भएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त गोदाममा पटाखा बनाउन प्रयोग हुने कच्चा पदार्थ ठूलो मात्रामा राखिएको थियो । प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्टसर्किटका कारण आगलागी भएको र त्यसपछि विस्फोट भएको अनुमान गरिएको छ । तर, काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) का वरिष्ठ अधिकारी राजा उमर खट्टबले यस दाबीलाई खारेज गर्दै गोदाममा पटाखा मात्र नभई अन्य विस्फोटक सामग्री पनि रहेको पुष्टि गरेका छन् ।
पुलिस सर्जन डा. सुम्मैया सैयदका अनुसार मृतकमध्ये एक १६ वर्षीय किशोर हुन् भने अर्का घाइते उपचारकै क्रममा मृत्यु भएका हुन् । २० जना घाइतेलाई जिन्ना पोस्टग्राजुएट मेडिकल सेन्टरमा भर्ना गरिएको छ, जसमा दुईजनाको अवस्था चिन्ताजनक छ ।
अन्य १४ जनालाई कराची सिभिल अस्पतालमा उपचार भइरहेको छ।
विस्फोट यति शक्तिशाली थियो कि तीन तले भवनको पर्खाल र छाना भत्किएर वरपरका घरमा क्षति पुगेको छ। सडकमा पार्क गरिएका सवारीसाधन चकनाचुर भएका छन्। वरपरका घरका सिसा फुटेका छन्।
रेस्क्यु–११२२ का प्रवक्ता हसनुल हसीब खानका अनुसार आगो नियन्त्रणमा लिन १२ वटा दमकल परिचालन गरिएको थियो। तर, गोदामभित्र रहेका ज्वलनशील वस्तुका कारण आगो पटक–पटक सल्किन्थ्यो र बाक्लो धुवाँका कारण उद्धार कार्यमा कठिनाइ भएको थियो।
सीटीडी अधिकारी खट्टबका अनुसार पाकिस्तानको कानुनले अधिकतम ५० किलोसम्म पटाखाको सामग्री निश्चित सर्तसहित भण्डारण गर्न दिने प्रावधान छ। पंजाब र खैबर पख्तुनख्वामा पटाखा उत्पादन र आयातका लागि इजाजतपत्र प्रणाली भए पनि सिन्ध प्रान्तमा यस्तो कानुनी संरचना छैन। यस कारण कराचीमा गैरकानुनी रूपमा गोदाम सञ्चालन हुँदै आएको बताइएको छ।
विस्फोटपछि आगो र धुवाँका कारण कराची ट्राफिक प्रहरीले एमए जिन्ना रोडलाई तत्काल बन्द गरेको थियो ।
सिन्धका मुख्यमन्त्री मुराद अली शाहले घटनाबारे दुःख प्रकट गर्दै विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्। उनले घाइतेलाई तत्काल उपचारको व्यवस्था मिलाउन तथा भविष्यमा जनसङ्ख्या बाक्लो क्षेत्रमा खतरनाक सामग्रीको भण्डारण नगर्न सम्बन्धित निकायलाई चेतावनी दिएका छन्।
यो विस्फोट कराचीकै लांढीस्थित एक्सपोर्ट प्रोसेसिङ जोनमा केही हप्ता अघि लागेको ठूलो आगलागीपछिको अर्को ठूलो घटना हो। त्यहाँ आठ जना घाइते भएका थिए र धेरै उद्योगहरूमा क्षति पुगेको थियो।
कराचीमा बारम्बार भइरहेका यस्ता घटनाले पाकिस्तानमा सुरक्षात्मक कानुनहरूको पालना र नियमन प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ।




