एजेन्सी, भदौ ६ । रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले युक्रेनसँग शान्ति वार्ताको लागि नाटोको सपना त्याग्न कडा शर्तहरू अघि सारेका छन्। क्रेमलिनसँग नजिक रहेका उच्चस्तरीय तीन स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार पुतिनले युक्रेनलाई पूर्वी डोनबास क्षेत्र पूर्ण रूपमा छोड्न, नाटोमा सामेल हुने महत्वाकांक्षा त्याग्न र देशभित्र रहेका पश्चिमी सैनिकहरूलाई हटाउन आग्रह गरेका छन्। पुतिनको भनाइमा, “युक्रेनले यी शर्त स्वीकार नगरेसम्म स्थायी शान्ति सम्भव छैन।”
पुतिनले हालै अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अलास्कामा आयोजित शिखर सम्मेलनमा भेट गरेका थिए। चार वर्षपछि भएको यस प्रत्यक्ष वार्तामा दुवै नेताबीच करिब तीन घण्टासम्म गोप्य छलफल भएको बताइन्छ। स्रोतहरूका अनुसार वार्ताको मुख्य विषय युक्रेन संकट थियो र पुतिनले शान्ति समझौताका लागि आफ्नो प्रस्ताव स्पष्ट गरेका थिए।
ट्रम्पले वार्तालाई अघि बढाउन पुतिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीबीच प्रत्यक्ष भेट आवश्यक रहेको बताएका छन्।
पुतिनले डोनबास मात्र नभई जापोरिज्जिया र खेरसोन क्षेत्रमा पनि युक्रेनी सेनाको अग्रपंक्ति तैनाती रोक्नुपर्ने प्रस्ताव गरेका छन्। उनले युक्रेनले आफ्नो सुरक्षा नीतिलाई पश्चिमी गठबन्धन (नाटो) सँग बाँध्ने अभ्यास तत्काल बन्द गर्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।
शान्ति प्रस्तावसँगै रूसले पछिल्ला दिनहरूमा युक्रेनमा भीषण आक्रमण पनि जारी राखेको छ। बुधबार–बिहीबार रातभरमा मात्र रुसले युक्रेनतर्फ ५७४ ड्रोन र ४० वटा मिसाइल प्रहार गरेको बताइएको छ। यी आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
रूसी मिसाइल र ड्रोन आक्रमणले युक्रेनका सैन्य तथा ऊर्जा पूर्वाधारलाई ठूलो क्षति पु¥याएको छ। साथै, एउटा अमेरिकी इलेक्ट्रोनिक कम्पनीको कारखाना पनि निशाना बनेको रिपोर्ट छ।
युक्रेनी राष्ट्रपति जेलेंस्कीले अमेरिकालाई रूसलाई वार्ता टेबलमा ल्याउन आग्रह गरेका छन्। उनका अनुसार, शान्ति वार्ताको लागि वाशिङटनको भूमिका निर्णायक हुनेछ। उनले भने– “रूसले वार्ताबाट मात्र समस्या समाधान गर्न सक्छ, त्यसैले अमेरिका यसमा मध्यस्थ बन्नुपर्छ।”
यसैबीच, ल्भिभ शहरमा भएको ठूलो आक्रमणमा २६ घर ध्वस्त भए। यस घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। निप्रोपेत्रोभ्स्क क्षेत्रमा भएको अर्को आक्रमणमा व्यापारिक प्रतिष्ठान, आवासीय भवन र ग्याँस पाइपलाइनहरूमा ठूलो क्षति पुगेको छ।




