संयुक्त राष्ट्रद्वारा गाजा सिटी अकालग्रस्त घोषणा



एजेन्सी, भदौ ८ । गाजामा जारी युद्धबीच संयुक्त राष्ट्रले शुक्रबार गाजा सिटीलाई औपचारिक रूपमा अकालग्रस्त घोषणा गरेको छ । एंटोनियो गुटेरेसले यसलाई “मानवजन्य आपदा” भन्दै चिन्ता व्यक्त गरेका छन्। रिपोर्ट अनुसार गाजामा दिनहुँ मानिसहरू भोक वा भोकजन्य रोगका कारण ज्यान गुमाइरहेका छन्।

संयुक्त राष्ट्रको तथ्यांकअनुसार हाल गाजा सिटी र वरपरका करिब ५.१४ लाख मानिसहरूलाई पर्याप्त खाना उपलब्ध छैन। यदि स्थितिमा सुधार भएन भने यो संख्या सेप्टेम्बरसम्म ६.४१ लाख पुग्ने अनुमान गरिएको छ। गाजा पट्टीमा कुल करिब २२ लाख जनसंख्या छ, जसको ९० प्रतिशत अहिले विस्थापित भएका छन्। रिपोर्टले देखाएको छ कि गाजाको २० प्रतिशत जनसंख्या अहिले गम्भीर खाद्य अभावमा छ।

यो पहिलो पटक हो जब संयुक्त राष्ट्रले अफ्रिकाबाहेक कुनै क्षेत्रमा औपचारिक रूपमा अकालको स्थिति पुष्टि गरेको हो। प्रतिदिन करिब १० हजारमध्ये दुई जनाको मृत्यु भोक वा त्यससँग सम्बन्धित रोगका कारण भइरहेको उल्लेख छ।

इजरायलले भने संयुक्त राष्ट्रको यो रिपोर्टलाई “हमासको गलत सूचना”मा आधारित भन्दै नकारेको छ। इजरायली रक्षा मन्त्री इस्रायल काट्जले चेतावनी दिंदै भने, “यदि हमासले हतियार नछोडे र बन्धकलाई रिहा नगरे, गाजा सिटीलाई पनि रफाह र बीत हानूनजस्तै पूर्ण रूपमा नष्ट गरिनेछ।”

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एक दिनअघि नै गाजा सिटीमा सैन्य अभियानका लागि आदेश दिइसकेका थिए। इजरायली सेनाले हालै गरेको हवाई आक्रमणमा गाजा सिटी नजिकको शेख रदवानस्थित एक विद्यालय भवनमा आश्रय लिएका कम्तीमा १७ जना मारिएका छन्।

गाजा पट्टीलाई इजरायली सेनाले अक्टोबर २०२३ देखि घेराबन्दीमा राखेको छ। करिब छ महिनादेखि त्यहाँ खाद्यान्न, औषधि र अन्य आवश्यक सामग्रीको आपूर्ति अवरुद्ध छ। संयुक्त राष्ट्र मानवाधिकार प्रमुख वोल्कर टर्कले युद्धकालीन घेराबन्दीबाट हुने भोकमरी र मृत्युहरूलाई युद्ध अपराध करार गरेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार ०९:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको