गाजामा पत्रकारको मृत्यु भएपछि इजरायलद्वारा दुःख व्यक्त



एजेन्सी, भदौ १० । गाजाको नासिर अस्पतालमा भएको भीषण आक्रमणमा पत्रकारसहित २१ जनाको मृत्यु भएपछि इजरायलले औपचारिक रूपमा दुःख व्यक्त गरेको छ । मृतकमध्ये पाँच जना पत्रकार, केही चिकित्सक तथा उद्धारकर्मी पनि रहेका छन्। यो आक्रमणपछि इजरायल विश्वव्यापी आलोचनाको घेरामा परेको छ।

इजरायलका प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी पत्रकार, चिकित्सक र सबै नागरिकको कामलाई सम्मान गर्छौ ं। गाजाको नासिर अस्पतालमा भएको दुर्घटनाले गहिरो दुःख भएको छ । हाम्रो युद्ध केवल हमास आतङ्ककारीहरूसँग हो, उद्देश्य हमासलाई पराजित गर्नु र आफ्ना बन्धकलाई फर्काउनु हो।”

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार अस्पतालको माथिल्लो तल्लामा पहिलो मिसाइल आक्रमण हुँदा धेरै व्यक्ति घाइते भए। घाइतेलाई उद्धार गर्न अन्य पत्रकार, स्वास्थ्यकर्मी र स्वयंसेवक पुग्दा दोस्रो मिसाइल त्यही स्थानमा खस्यो, जसमा ठूलो संख्यामा मानिस मारिए।

मृत पत्रकारमध्ये अल जजिराका मोहम्मद सलामा, रायटर्सका क्यामराम्यान हुसैन अल–मसरी, तथा एपीका लागि काम गर्दै आएकी स्वतन्त्र पत्रकार मरियम अबू दक्का सामेल छन्।

यो घटनापछि अन्तर्राष्ट्रिय स्तरमा व्यापक आलोचना भएको छ। अल जजिराले यसलाई “सत्यलाई दबाउने प्रयास” भनेर कडा शब्दमा निन्दा गरेको छ। त्यस्तै, फलस्तीनी पत्रकार संघले यो हमला पत्रकारलाई आतंकित गर्न र उनीहरूको आवाज दबाउन गरिएको आरोप लगाएको छ।

फलस्तीनी स्रोतका अनुसार, सोमबार बिहानदेखि मात्रै गाजामा भएका इजरायली आक्रमणमा ६१ जनाको मृत्यु भइसकेको छ। ६ अगस्टदेखि हालसम्म गाजामा करिब १००० भवन ध्वस्त भएका छन्। लगातारका आक्रमणका कारण स्वास्थ्य सेवा, खानेपानी र खाद्यान्न संकट गहिरिँदै गएको अन्तर्राष्ट्रिय संस्थाहरूले चेतावनी दिएका छन्।

इजरायलले आफ्नो आक्रमणको लक्ष्य केवल हमास भएको दोहोर्याउँदै आएको छ। तर अस्पताल, शरणार्थी शिविर र पत्रकारमाथिका आक्रमणले इजरायलको दाबीमाथि प्रश्न उठेको छ।

मानवअधिकार संस्थाहरूले नागरिक भौतिक संरचना र प्रेसमाथि आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानूनविपरीत भनेका छन्। संयुक्त राष्ट्रसंघका अधिकारीहरूले पनि अस्पताल आक्रमणको स्वतन्त्र छानबिन गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार ०९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको