
एजेन्सी, भदौ ११ । बिहारको राजधानी पटना प्रहरीले आपराधिक गतिविधिमा संलग्न कुख्यात ‘महाकाल’ गैंगको नेटवर्क ध्वस्त गरेको छ । लामो समयदेखि सक्रिय यो समूहमाथि नियन्त्रण गर्दै प्रहरीले दुई सदस्यलाई हतियारको ठूलो भण्डारसहित पक्राउ गरेको हो । यसलाई पटना प्रहरीले ठूलो उपलब्धि मानेको छ।
२५ अगस्ट २०२५ मा प्रहरीलाई बिहटा र मनेर क्षेत्रमा महाकाल गैंग सक्रिय रहेको खबर प्राप्त भएको थियो । उक्त सूचनापछि नगर प्रहरी उपाधीक्षक (पश्चिमी)को नेतृत्वमा विशेष टोली गठन गरियो । टोलीमा डिआइयु , बिहटा र आइआइटी अमहारा थानाका प्रहरी समावेश थिए। छापामारीको क्रममा गैंगका दुई सदस्य घोडाटप विहटा निवासी ५७ वर्षीय हरेराम सिंह र सोही ठाउका २५ वर्षीय विनीत कुमार प्रहरीले नियन्त्रणमा लिएको छ ।



उनिहरुको साथबाट २ थान राइफल, १ थान राइफल जस्तै गन, १ थान रिभल्वर, ३४० थान गोली , नगद रु. ५ लाख ७ हजार ४ सय , ३ वटा मोबाइल फोन सहितका सामग्री समेत बरामद गरेको छ।
प्रहरी अनुसन्धान अनुसार महाकाल गैंग अवैध हतियार आपूर्ति र कारतूस कारोबारमा संलग्न थियो । साथै, उनीहरू सामाजिक सञ्जालमा हतियारसहित भिडियो बनाएर त्रास फैलाउने र दबंग छवि प्रदर्शन गर्ने गर्थे।

प्रहरीले जनाएअनुसार समूहमा जम्मा ६ सदस्य सक्रिय छन् । हाल पक्राउ परेका बाहेक सोनु कुमार र सुमित कुमारलाई यसअघि नै (जुलाई २०२५) ८० कारतूस सहित पक्राउ गरी जेल चलान गरिएको थियो । निरञ्जन कुमार र अभिषेक कुमार भने अझै फरार रहेका छन्।
बिहटा थाना काण्ड नम्बर ६७४/२५ अन्तर्गत शस्त्र ऐनका विभिन्न धारामा मुद्दा दर्ता गरिएको छ। पक्राउ परेकामध्ये विनीत कुमारको आपराधिक इतिहास पनि प्रहरीले पत्ता लगाएको छ।