एजेन्सी,
सीतामढी, भदौ १२ । बिहारमा जारी मतदाता अधिकार यात्राको आज १२औँ दिन राहुल-तेजस्वी सीतामढी पुगेका छन । विपक्षी गठबन्धनको सीतामढी यात्रालाई राजनीतिक दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ। कांग्रेस नेता राहुल गान्धी र राजद नेता तेजस्वी यादव बिहीबार दिनभरि सीतामढीमा रहनेछन् ।
उनीहरू विभिन्न कार्यक्रममा सहभागी भई स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रमअनुसार बिहान ८ बजे कांग्रेस आश्रमबाट यात्रा शुरु भई राहुल गान्धी सर्वप्रथम सीतामढीस्थित जानकी मन्दिर पुग्नेछन् । त्यहाँ उनीहरूले पूजाआराधना गर्दै मतदाताको अधिकार र सशक्तीकरणका लागि आशीर्वाद लिनेछन्। त्यसपछि उनी आम जनतासँग भेटघाट तथा कुराकानी गर्ने कार्यक्रम छ।
यात्राको अर्को चरण रीगा मिल चौक, सुप्पी र बैरगनिया पटेल चौकसम्म पुग्नेछ। यी स्थानहरूमा ठूलो संख्यामा जनसमूह भेला हुने अपेक्षा गरिएको छ। राहुल र तेजस्वीले स्थानीय समस्याबारे जनतासँग प्रत्यक्ष सुन्ने र आगामी निर्वाचनका लागि रणनीति बाँड्नेछन्। बेरोजगारी, महँगी र किसानसँग सम्बन्धित मुद्दालाई विशेष प्राथमिकतामा राखिनेछ।
आजको यात्रा ढाकामा सम्पन्न हुनेछ, जहाँ राहुल गान्धी राति विश्राम गर्नेछन्। यसबीच, कांग्रेस नेतृ प्रियंका गान्धी भने बुधबार नै दिल्ली फर्किएकी छन्।






