एजेन्सी
दरभंगा, भदौ १३ । दरभंगा जिल्लाको सकतपुर क्षेत्रमा अज्ञात समूहले एक प्रधानाध्यापकको गोली हानी हत्या गरेका छन् । मधुबनी जिल्लाको फुलपरास घर भएका राजेश कुमार ठाकुर, जो हाल मनीगाछी क्षेत्रका बीएलओ तथा प्राथमिक विद्यालय मधपुर, सोनपुर टोला (वार्ड नं. ६) का निर्वतमान प्रधानाध्यापक थिए, उनीमाथि बिहीबार साँझ करिब पाँच बजे हमला गरिएको हो।
ठाकुर विद्यालयबाट उजान चौक जाँदै गर्दा तीन जनाको समुहमा आएका बाइक सवार अज्ञात समूहले गोली प्रहार गरेका थिए । बाइकको बीचमा बसेको व्यक्तीले उनीमाथि पेटको दायाँ भागमा गोली हानेको बताइएको छ। गोली लागेपछि पनि उनले करिब २०० मिटर मोटरसाइकल चलाइ उजान पीडब्ल्यूडी सडकसम्म पुगेका थिए।
घाइते अवस्थामा उनलाई स्थानीयवासीको सहयोगमा पण्डौलस्थित एक निजी अस्पताल लगियो । त्यहाँबाट चिकित्सकले डीएमसीएच पठाएका थिए तर बाटैमा उनको मृत्यु भयो।
घटनाबारे थाहा पाएलगत्तै सकतपुर प्रहरी प्रमुख अरविन्द कुमार अस्पताल पुगेका थिए। उनले घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको जानकारी दिए।
त्यस्तै, बेनीपुर एसडीपीओ आशुतोष कुमारले राति घटनास्थलको निरीक्षण गर्दै अपराधीको पहिचानका लागि खोजतलास तीव्र पारिएको बताए।
स्थानीय शिक्षा विभागका अधिकारीहरूले घटनाको पुष्टि गर्दै कारण पत्ता नलागेको जनाएका छन् । घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।






