एजेन्सी, भदौ १७ । बिहार विधानसभाको चुनाव नजिकिदै जाँदा केन्द्रीय मन्त्री तथा हिन्दुस्तानी आवाम मोर्चा (हम) का प्रमुख जीतन राम मांझी र मुख्यमन्त्री नीतीश कुमारबीच भेटवार्ता भएको छ । करिब १५ मिनेटसम्म चलेको यो भेटलाई सामान्य औपचारिकता भन्दा अगामी चुनावका लागि एनडिएको सिटबाटफाटमा केन्द्रित मानिएको छ।
स्रोतका अनुसार, भेटवार्ताको मुख्य विषय राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) भित्रको सिट बाँडफाँड नै हो । आउँदो ३ सेप्टेम्बरमा केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा दिल्लीमा एनडीएको महत्त्वपूर्ण बैठक तय भएकाले मांझी र नीतीशबीचको यो भेट रणनीतिक तयारीको रुपमा लिइएको छ।
मांझीले आगामी विधानसभाचुनावमा आफ्नो पार्टी हम का लागि उचित सिट हिस्सेदारी माग प्रस्तुत गरेका छन्। मुख्यमन्त्री नीतीश कुमारले पनि यस विषयलाई गम्भीरतापूर्वक लिँदै सबै घटक दललाई सन्तुलनमा राखेर सिट बाँडफाँड हुने आश्वासन दिएका छन्।
यो भेट त्यस्तो समयमा भएको हो जब बिहारमा एनडीए र इन्डिया गठबन्धनबीच प्रत्यक्ष टक्करको वातावरण बनिरहेको छ। नीतीश कुमारको रणनीतिक सोच र मांझीको सामाजिक पकड दुवै आगामी विधानसभाचुनावमा एनडीएका लागि निर्णायक साबित हुन सक्ने बताइन्छ।
विशेष कुरा के छ भने, ३ सेप्टेम्बरको दिल्ली बैठकलाई लिएर एनडीएका सबै घटक दल बेचैन छन्। त्यही बैठकमा लोकसभा चुनावपछि बनेको नयाँ राजनीतिक समीकरण र सिट बाँडफाँडको अन्तिम रूपरेखा तय हुने अपेक्षा गरिएको छ।
मांझी र नीतीशबीचको यो भेटले देखाएको छ कि गठबन्धनभित्र केही मतभेद भए पनि संवाद र समझदारीको ढोका अझै खुला छ। अब सबैको नजर ३ सेप्टेम्बरको बैठकतर्फ केन्द्रित भएको छ, जहाँ बिहार एनडीएको आगामी रणनीतिबारे ठूलो घोषणा हुने सम्भावना छ।






