
एजेन्सी
पटना, असोज ८ । बिहारको राजनीति फेरि तातेको छ। विधानसभा चुनाव नजिकिँदै जाँदा नेताहरुबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ। यसै क्रममा महुआका विधायक तथा पूर्वमन्त्री तेजप्रताप यादवले लोक जनशक्ति पार्टी (रामविलास) का अध्यक्ष चिराग पासवानलाई खुला चुनौती दिएका छन्।
तेजप्रतापले भने, “यदि चिराग पासवान साँच्चै बलिया छन् भने भाजपा सँगको गठबन्धन छोडेर एक्लै २४३ वटा सिटमा चुनाव लडेर देखाउनुपर्छ । भाजपा को काखमा बसेर चुनाव लड्नु शक्ति होइन, बाध्यता हो।”



यो अभिव्यक्ति त्यस्तो बेला आएको हो जब एनडीए र महागठबन्धन दुवै खेमामा सिट बाँडफाँटबारे छलफल र रणनीतिक बैठकहरू जारी छन्।
तेजप्रतापले आफ्नो फेसबुक अकाउन्टमार्फत भिडियो सन्देश जारी गर्दै “टीम तेजप्रताप यादव” नामको नयाँ पेज सुरु गरेको घोषणा गरेका छन्। उनले भने, “यस पेजमा दैनिक कार्यक्रम, जनता दरबार, जनसमस्यासम्बन्धी गतिविधि र राजनीतिक सूचना साझा हुनेछ। जनतासँग प्रत्यक्ष सम्पर्क कायम गर्न यस पेजलाई मेरो आइटी टिमले तयार पारेको हो।”

तेजप्रतापले राजद (आरजेडी) मा पुनः फर्किने सम्भावना पूर्ण रूपमा नकारे। उनले भने, “भगवान श्रीकृष्ण र गीताको कसम खाएर भन्छु, अब चाहे जतिसुकै बोलावट आए पनि म च्व्म् मा फर्किने छैन।” साथै उनले दिदी रोहिणी आचार्यको समर्थन गर्दै संजय यादवमाथि गम्भीर आरोप लगाएका छन्।
तेजप्रताप यादव अब जनशक्ति जनता दल नामक आफ्नै पार्टीको ब्यानरमा चुनाव लड्ने तयारीमा छन्। उनले साना दलहरूसँग सहकार्य गरी महुआ क्षेत्रबाट उम्मेदवार बन्ने रणनीति बनाएका छन्। विश्लेषकहरूले यो कदमले बिहारको सियासतमा नयाँ समीकरण जन्माउने टिप्पणी गरेका छन्।