काठमाण्डौं, असोज २६ । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट प्रतियोगितामा नेपालले आज आफ्नो सुपर सिक्सको पहिलो खेल यूएई (संयुक्त अरब इमिरेट्स) विरुद्ध खेल्दैछ।
यो खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मैदानमा अपराह्न ४:१५ बजे सुरु हुनेछ।
समूह चरणमा यूएईले कतार र मलेसियालाई हराएर अपराजित रूपमा सुपर सिक्समा प्रवेश गरेको थियो भने नेपालले कुवेत र जापानलाई पराजित गर्दै अपराजित रहँदै अघि बढेको हो।
नेपालले आजको खेलमा यूएईलाई पराजित गर्न सकेमा सुपर सिक्समा बलियो सुरुवात गर्नेछ। दुबै टोली पछिल्ला खेलहरूमा राम्रो लयमा छन् र टेस्ट राष्ट्रहरूलाई पराजित गर्ने क्षमतासमेत देखाइसकेका छन्।
नेपाल र यूएईबीच टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म १० पटक आमनेसामने भएका छन्, जहाँ दुवैले ५–५ खेल जितेका छन्। पछिल्लो भिडन्तमा एसीसी प्रिमियर कपमा नेपाल यूएईसँग पराजित भएको थियो।
नेपालले सुपर सिक्सका आगामी खेलहरूमा सोमबार कतार, बुधबार सामोआ, र शुक्रबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ।






