बिहारमा ओवैसीको मुस्लिम कार्ड : सीमांचलपछि मिथिलांचलमा नजर



एजेन्सी, असोज २६ । बिहारमा आसन्न २०२५ विधानसभा चुनाव नजिकिँदै गर्दा एआइएमआइएम (अखिल भारतीय मजलिस–ए–इत्तेहादुल मुस्लिमीन) का प्रमुख असदुद्दीन ओवैसी फेरि सक्रिय भएका छन्। उनी अब सीमांचलपछि मिथिलांचल क्षेत्रमा पनि आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेका छन्।

न्यूज एजेन्सी एएनआईसँगको अन्तर्वार्तामा ओवैसीले भने, “हाम्रो राजनीतिक यात्रा सीमांचलको भूमिबाट सुरु भएको हो। सीमांचल क्षेत्र पछाडि परेको छ, त्यहाँ विकासका सूचकहरू निकै कमजोर छन्। हामीले त्यस क्षेत्रमा न्याय र विकास माग गर्दै हाम्रो अभियान सुरु गरेका हौं।”

ओवैसीले थपे, “बिहारमा कुशासन, भ्रष्टाचार र मुस्लिम समुदायभित्र नेतृत्वको अभाव छ। राज्यमा करिब १९ प्रतिशत मुस्लिम जनसंख्या छ, तर उनीहरूको प्रतिनिधित्व गर्ने बलियो नेतृत्व छैन।”

उनको पार्टी एआइएमआइएम यसपटक बिहारमा एक्लै चुनाव लड्दैछ। ओवैसीले पहिले महागठबन्धनसँग सहकार्य गर्ने प्रयास गरेका थिए र ६ सिटको माग पनि राखेका थिए। तर राजद (राष्ट्रिय जनता दल) ले त्यस प्रस्ताव अस्वीकार गरेको थियो।

हाल ओवैसीले सीमांचल क्षेत्रका दुई उम्मेदवार घोषणा गरिसकेका छन् र अब मिथिलांचलका दरभंगा, जाले, केवटी र मधुबनीका विस्फी सिटहरूमा पनि उम्मेदवार उतार्ने तयारी गरेका छन्। केही दिनअघि उनले दरभंगा शहरमा आयोजित सभामा यसबारे घोषणा गरेका थिए।

विश्लेषकहरूका अनुसार, ओवैसीको यो कदमले बिहारमा मुस्लिम मतदातामाथि प्रत्यक्ष प्रभाव पार्ने सम्भावना छ, जसले आगामी चुनावी समीकरणमा नयाँ मोड ल्याउन सक्छ।

प्रकाशित मिति: २०८२ आश्विन २६, आइतवार ०८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको