मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज विश्वासको मत लिंदै



जनकपुरधाम, असोज २८ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज (असोज २८) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा सिंहले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यक्रम छ।

गत शुक्रबार मुख्यमन्त्री सिंहले प्रदेश सभा सचिवालयलाई पत्र लेखी विश्वासको मत लिनका लागि बैठक बोलाउन अनुरोध गरेका थिए।
त्यसअनुसार आजको बैठक बोलाइएको मधेश प्रदेश सभा सचिव वासुप्रसाद कोइरालाले जानकारी दिएका छन्।

जेनजी आन्दोलन चर्किएको भदौ २३ र २४ गते सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए। तर, पछि उनले त्यो राजीनामा औपचारिक नभएको भन्दै आफ्नो निर्णय फेरेका थिए। सिंहले फेसबुकमार्फत दिएको राजीनामा ‘विषम परिस्थितिमा जनधनको क्षति रोक्न’ लेखिएको भन्दै वास्तविक राजीनामा नभएको स्पष्ट पारेका छन्।

तर, सिंहको निर्णय परिवर्तनपछि उनको दल जनमत पार्टीले भदौ ३१ गते प्रदेश सभामा पत्र पठाउँदै मुख्यमन्त्री र मन्त्रिपरिषद् दुवैबाट समर्थन फिर्ता लिएको थियो।
संविधान अनुसार समर्थन फिर्ता भएको मितिबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेकाले सिंह आज प्रदेश सभामा मतका लागि उपस्थित हुन लागेका हुन्।

प्रकाशित मिति: २०८२ आश्विन २८, मंगलवार ०७:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको