उत्तर प्रदेशका २५ लाख युवालाई निःशुल्क ट्याबलेट, योगी सरकारको युवा लक्षित योजना



एजेन्सी, भदौ १० । भारतको उत्तर प्रदेश सरकारले थप २५ लाख युवालाई निःशुल्क ट्याबलेट वितरण गर्ने भएको छ। मुख्यमन्त्री योगी आदित्यनाथको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले स्वामी विवेकानन्द युवा सशक्तीकरण योजनाअन्तर्गत २५ लाख ट्याबलेट खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

मन्त्रिपरिषद्को निर्णयसँगै टेन्डर प्रक्रियाबाट छनोट भएका संस्थालाई ट्याबलेट आपूर्तिका लागि खरिद आदेश जारी गर्ने बाटो खुलेको छ। योजनाका लागि योग्य युवालाई ट्याबलेट निःशुल्क उपलब्ध गराइनेछ।

योजनाअन्तर्गत स्नातक, स्नातकोत्तर, डिप्लोमा, सीप विकास तथा विभिन्न शिक्षण–प्रशिक्षण कार्यक्रममा सहभागी योग्य युवाले सुविधा पाउनेछन्। उच्च शिक्षा, प्राविधिक शिक्षा, स्वास्थ्य शिक्षा, सीप विकास तालिम तथा आईटीआईसँग सम्बन्धित दर्ता भएका युवालाई समेत योजनामा समेटिएको प्रदेश सरकारका वित्त तथा संसदीय कार्यमन्त्री सुरेश कुमार खन्नाले जानकारी दिए।

सरकारका अनुसार ट्याबलेट वितरणपछि विद्यार्थी तथा प्रशिक्षार्थीले अध्ययन र तालिमका क्रममा डिजिटल स्रोत तथा प्रविधिको सहज प्रयोग गर्न पाउनेछन्। यसले युवाको डिजिटल ज्ञान र रोजगारीसँग सम्बन्धित सीप विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्वामी विवेकानन्द युवा सशक्तीकरण योजना पाँच वर्षका लागि सञ्चालनमा छ। आर्थिक वर्ष २०२६र२७ का लागि योजनामा २ हजार ३७४ करोड ६० लाख भारतीय रुपैयाँ बजेट विनियोजन गरिएको छ। योजनाअन्तर्गत एउटा ट्याबलेट करिब १७ हजार रुपैयाँमा खरिद गरिने बताइएको छ।

उत्तर प्रदेश सरकारले यसअघि नै करिब ६० लाख ट्याबलेट तथा स्मार्टफोन योग्य युवालाई वितरण गरिसकेको जनाएको छ।

यसअघि मंगलबार मुख्यमन्त्री योगी आदित्यनाथले नियुक्तिपत्र वितरण कार्यक्रममा आगामी छ महिनामा एक लाख रोजगारी उपलब्ध गराउने घोषणा गरेका थिए। सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले युवासँग सम्बन्धित अन्य निर्णयसमेत गरेको थियो।

प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार ०९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको