काठमाडौं, भदौ १० । रसुवामा आएको बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।
प्रहरीका अनुसार नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मी बाढीपछि सम्पर्कविहीन भएका हुन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले केही सुरक्षाकर्मी सम्पर्कमा आइसकेको र केही सम्पर्कमा आउने क्रममा रहेको जानकारी दिए। उनका अनुसार हालसम्म ३२ जना प्रहरी सम्पर्कविहीन छन्।
बाढीका कारण रसुवाका विभिन्न प्रहरी कार्यालयमा समेत क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुवेशी प्रहरी चौकी, रसुवागढी तथा मैलुङस्थित प्रहरी कार्यालय प्रभावित भएका छन्।
यसैगरी, सशस्त्र प्रहरीका ९ जना पनि सम्पर्कविहीन रहेको सशस्त्र प्रहरीले जनाएको छ। उनीहरू टिमुरेमा रहेको सीमा सुरक्षा गुल्म ९बीओपी० मा कार्यरत थिए।
बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा अन्य निकायले उद्धार र खोजी कार्यलाई तीव्रता दिएका छन्। सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा अवस्था पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।






