काठमाडौं, ८ कात्तिक। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकामाथि युद्धलाई बढावा दिने काम गरेको आरोप लगाएका छन्।
यसअघि अमेरिकाले विश्वकै सबैभन्दा ठूलो विमानवाहक पोत क्यारेबियन क्षेत्रमा पठाएको थियो, जसले क्षेत्रीय सैन्य तनाव बढाएको छ। राष्ट्रपति मादुरोले सरकारी सञ्चार माध्यमसँग भने, “अमेरिकाले पहिले कुनै युद्धमा समावेश नहुने प्रतिवद्धता जनाएका थिए। तर अहिले नयाँ युद्ध सिर्जना भइरहेको छ।”
अमेरिकाका रक्षामन्त्री पीट हेगसेथले शुक्रबार विमानवाहक पोतलाई मेडिटेरेनियन सागरबाट क्यारेबियन क्षेत्रमा तैनाथ गर्न आदेश दिएका थिए। बीबीसीका अनुसार, उक्त पोत ९० विमानसम्म बोकेको क्षमता राख्दछ।
अमेरिकाले पछिल्ला दिनहरूमा क्यारेबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थितिलाई विस्तार गरेको छ। यस क्षेत्रमा युद्धपोत, परमाणु पनडुब्बी र एफ–३५ लडाकु विमान तैनाथ गरिएको छ। अमेरिकी अधिकारीहरूले यो कदम लागू औषध तस्करीविरुद्धको अभियान अन्तर्गत उठाइएको बताए।






