ओम प्रकाश यादव
रौतहट, कार्तिक १२ । रौतहटको मौलापुरमा राजनीतिक तनावको वातावरण सिर्जना हुने संकेत देखिएको छ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य कुन्दन कुशवाहाले हिजो बेलुका आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको आगामी शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई योजनाबद्ध रूपमा अवरुद्ध गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।
कुशवाहाका अनुसार, एमालेले कार्तिक १३ गते मौलापुरमा पार्टीको निर्धारित कार्यक्रम गर्ने निर्णय पहिले नै गरिसकेको थियो, र सो घोषणा पार्टीका नेता तथा स्थानीय तहका कार्यकर्ताहरूबीच मञ्चबाटै गरिएको थियो।

तर त्यही समयमा आम जनता पार्टीका केही नेता तथा कार्यकर्ताहरूले पनि कार्यक्रम घोषणा गरेको सुन्दा दुःखद र आपत्तिजनक लागेको उनको भनाइ छ।
“हाम्रो निर्धारित कार्यक्रमलाई प्रभावित बनाउने उद्देश्यले अर्को पार्टीले त्यही समयमा कार्यक्रम घोषणा गर्नु कार्यकर्ता जुधाउने नियत हो,” कुशवाहाले भने, “यदि यस्तो अवस्था रहिरह्यो भने गौरजस्तो घटना दोहोरिन सक्ने सम्भावना छ।”
उनले थपे, “लोकतान्त्रिक अभ्यासमा सबैलाई कार्यक्रम गर्ने स्वतन्त्रता छ, तर धम्की, अवरोध र घेराबन्दीको शैली त राणा शासनकालमा हुने गर्थ्यो। अहिले यस्तो प्रवृत्ति देखा पर्नु अत्यन्तै दुःखद र निन्दनीय हो।”
कुशवाहाले गौर घटनाको जड पनि त्यस्तै राजनीतिक हठ र जबरजस्ती समान मञ्चमा कार्यक्रम गर्न खोज्ने प्रवृत्तिमा रहेको बताएका छन्।
उनका अनुसार, “प्रभु साहकै हठका कारण गौरमा भएको दुस्खद घटना सबैले देखिसकेका छन्। त्यसै प्रकारको गलत अभ्यास दोहोरिएमा स्थिति फेरि असामान्य बन्न सक्छ।”
एमाले नेता कुशवाहाले पार्टीले यसबारे गम्भीर छलफल गर्नका लागि बुधबार क्षेत्रीय बैठक बस्ने र आवश्यक निर्णय गर्ने जानकारी पनि दिए। उनले भने, “एमाले कसैसँग डराउँदैन। हामी शान्तिपूर्ण, मर्यादित र लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छौं।
तर यदि कसैले आन्दोलनका नाममा घुसपैठ गरेर अशान्ति फैलाउने प्रयास गर्छ भने, कानुनी कारबाही अनिवार्य हुनेछ।”
कुशवाहाले अन्त्यमा स्पष्ट रूपमा भने, “मौलापुरमा एमालेको कार्यक्रम जसरी पनि हुन्छ। कुनै धम्की वा दबाबका कारण पार्टी पछि हट्ने छैन।”
रौतहटमा हालैका वर्षहरूमा विभिन्न राजनीतिक दलबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।
गौरमा भएको हिंसात्मक घटना राजनीतिक असहिष्णुताको परिणामका रूपमा हेरिएको थियो।
मौलापुरमा फेरि त्यस्तै स्थिति दोहोरिन नदिने जिम्मेवारी अब सबै पक्षले साझा रूपमा लिन आवश्यक देखिन्छ।









