पोखरा, कात्तिक २१ । जेन–जी आन्दोलनपछि राजीनामाको घोषणा गर्दै गाडी फिर्ता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दल गण्डकीका नेता पञ्चराम तमुले सोही गाडी फेरि लिएर गएका छन्। तमुले गाडी लिएपछि सभामुख कृष्णप्रसाद धिताल गाडीविहीन भएका छन्।
भदौ २४ गते जेन–जी आन्दोलनपछि राप्रपाका सातै प्रदेशका २८ जना सांसदले संसदबाट बाहिरिने घोषणा गरेका थिए। त्यस क्रममा गण्डकीका दल नेता तमु र सचेतक बिन्दु पौडेलले पनि प्रदेश सभा सचिवालयमा प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका थिए।
तमुले बुझाएको ग १ झ ४५२ नम्बरको गाडी सभामुख धितालले प्रयोग गर्दै आएका थिए। तर, तीन दिनअघि तमुले सो गाडी पुनः लिएर गएको संसद सचिवालयले पुष्टि गरेको छ।
“गाडी फिर्ता गरेको उहाँले मौखिक रूपमा जानकारी गराउनुभएको थियो, लिखित रूपमा भने थिएन,” संसद सचिवालयका सूचना अधिकारी शशीधर सुवेदीले बताए, “अहिले फेरि काम परेको कारण लिएर जानुभएको खुलेको छ।”
सभामुख धितालले पनि गाडीको कमीका कारण अहिले “आलोपालो चलाउने अवस्था आएको” बताएका छन्। उनले भने, “गाडी थोरै भएका कारण आलोपालो गर्नैपर्ने भयो। मौखिक रूपमा गाडी फिर्ता गर्नुभएको थियो, त्यसैले अहिले उहाँले लिएर जानु भएको हो।”
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते गण्डकी प्रदेश सभा भवन, संसद सचिवालय र संसदीय समितिका कार्यालयहरूमा आगजनी हुँदा ६ वटा चारपांग्रे र १२ वटा दुईपांग्रे सवारीसाधन जलेका थिए। अहिले सचिवालयसँग तीनवटा मात्र गाडी बाँकी छन् — जसमा एक सभामुखको, एक उपसभामुखको र एक सचिवको प्रयोगमा रहेको छ।
गाडी लिएर गएका सांसद तमुको प्रतिक्रिया भने अहिलेसम्म प्राप्त हुन सकेको छैन।
गण्डकी प्रदेश सभाको अर्को बैठक कात्तिक २४ गतेका लागि बोलाइएको छ। आगजनीका कारण भवन प्रयोग गर्न नसकिएकोले मालेपाटनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा बैठक राख्ने तयारी गरिएको सचिवालयले जनाएको छ।




