मधेश भवनमा सुरक्षा व्यवस्था कडा



जनकपुरधाम, कात्तिक २४। प्रदेश प्रमुख सुमित्रा भण्डारीले बर्दीबास पुगेर एमाले नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि मधेश भवन परिसरमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। प्रदेशमा पछिल्ला राजनीतिक घटनाक्रम तीव्र रूपमा बदलिँदै गएपछि सम्भावित अप्रिय घटना रोक्न सुरक्षामा कडाइ गरिएको हो।

भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। तर, सात दलीय गठबन्धनले सो निर्णयको विरोध गर्दै प्रदेश प्रमुखको कदम संविधानविपरीत भएको दाबी गरेका छन्। उनीहरूले प्रदेश प्रमुख भण्डारीले एमालेबाहेकका सात दलको समर्थनमा सरकार गठनको आह्वान गर्नुपर्नेमा त्यसो नगरेको आरोप लगाएका छन्।

राजनीतिक तनाव बढ्न सक्ने आकलन गर्दै मधेश भवन वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले भवनभित्र प्रवेशमा कडाइ गरेको छ र प्रदेशसभा सदस्य तथा सरकारी कर्मचारीबाहेक अरूलाई प्रवेश निषेध गरेको जनाएको छ।

प्रदेशमा नयाँ सरकार गठनसँगै मधेशको राजनीतिक समीकरण फेरिँदै गएको देखिएको छ। एमाले नेतृत्वको नयाँ सरकार बनेसँगै पुरानो सत्ता गठबन्धन अस्थिर बन्न सक्ने अनुमान गरिएको छ। राजनीतिक परिवर्तनको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा निकाय सतर्क रहँदै घटनाक्रमको नजिकबाट निगरानी गरिरहेको छ।

प्रकाशित मिति: २०८२ कार्तिक २४, सोमबार ०८:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको