जनकपुरधाम, कात्तिक २६ । मधेश प्रदेशमा नेकपा एमालेबाट अवैधानिक रूपमा मुख्यमन्त्री नियुक्ती र प्रशासनद्वारा गरिएको दमनका विरोधमा सात दलिय गठबन्धनले मधेश भवन अगाडि आन्दोलन जारी राखेको छ। हिजो साँझ जारी गरेको आह्वानअनुसार गठबन्धनले आज पनि धर्ना र विरोध कार्यक्रम सञ्चालन गरेको छ।
सात दलिय गठबन्धनले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तीलाई असंवैधानिक ठहर गर्दै उनलाई र मन्त्रीहरूलाई पूर्ण रूपमा बहिष्कार गर्न अपिल गरेको छ। आन्दोलनका क्रममा जनकपुरधामको मधेश भवन क्षेत्रमा सुरक्षा व्यवस्थाकाबीच शान्तिपूर्ण धर्ना जारी रहेको छ।
गठबन्धनका नेताहरूले जारी विज्ञप्तिमा उल्लेख गरेका छन् कि संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न यो आन्दोलन अपरिहार्य भएको हो। आन्दोलनमा सहभागीहरूले मुख्यमन्त्री र मन्त्रीहरूले गर्ने कुनै पनि कार्यक्रममा सहभागिता नगर्न पनि सर्वसाधारणलाई आह्वान गरेका छन्।
मंगलबार आन्दोलनको क्रममा सुरक्षाकर्मीले प्रयोग गरेको लाठीचार्ज, अश्रुग्यास प्रहार र दमनकारी कार्यवाहिको कडा निन्दा सात दलले गरेको छ। गठबन्धनले घाइते आन्दोलनकारीहरूको स्वास्थ्य लाभको कामना गर्दै संलग्न सुरक्षाकर्मीहरूमाथि कडाइका साथ कारबाही गर्न सरकारसँग माग गरेको छ।
आजको धर्ना बिहान ८स्३० बजेदेखि सुरु भएको छ र यसमा सात दलका नेता, कार्यकर्ताको सहभागिता रहेको छ। आन्दोलनकारीहरूले प्रमुख सडक मार्गहरूमा शान्तिपूर्ण प्रदर्शन गर्दै सरकारलाई संविधानको पालन र लोकतान्त्रिक मूल्यमान्यताप्रति वफादारी जनाउन दबाब सिर्जना गरिरहेका छन्।
सात दलिय गठबन्धनले मधेश प्रदेशको राजधानी जनकपुरधाममा शान्तिपूर्ण आन्दोलन जारी राख्दै सरकारी निर्णयमा पुनर्विचार र लोकतान्त्रिक संवैधानिक अधिकारको रक्षा गर्न सक्रिय अभियान चलाउने प्रतिबद्धता जनाएको छ।






