बुटवल, कात्तिक २७। बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दा आज सुनुवाइका लागि तोकिएको छ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासमा आज (बिहीबार) सुनुवाइ हुने अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
यसअघि २० कात्तिकमा अदालतले सुरु मिसिल मगाउने आदेश दिएको थियो। सुरु मिसिल प्राप्त भएपछि आजको पेशी तोकिएको हो।
१३ कात्तिकमा तोकिएको अघिल्लो पेशी छविलाल जोशीका कानुनी सल्लाहकारको निवेदनका कारण स्थगित भएको थियो। आजको पेशी स्थगित हुने वा नहुनेबारे अझै निश्चित भइसकेको छैन।
यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि र छविको मुद्दा एकै प्रकृतिको भएकाले संयुक्तरूपमा सुनुवाइ गर्न आदेश गरेको थियो।
सहकारी ठगीसम्बन्धी मुद्दामा रवि लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। लामिछानेले त्यसको चौथाइ हिस्सा अर्थात् २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत पेश गरेका थिए। जोशीले पनि सोही रकम बराबरको जमानत पेस गरेका छन्।
तर, अदालतले उनीहरूको व्यक्तिगत बिगो स्पष्ट नभएकाले दुवैलाई पुर्पक्षका लागि कारागारमै राख्ने आदेश गरेको थियो। हाल लामिछानेलाई ललितपुरको नख्खु कारागारमा, भने जोशीलाई भैरहवा कारागारमै राखिएको छ।






