सातदलीय गठबन्धनद्वारा आज जनकपुरमा मोटरसाइकल र्‍याली, मुख्यमन्त्री नियुक्तिको विरोध



जनकपुरधाम, कात्तिक २७ । मधेश प्रदेशमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रूपमा गरिएको भन्दै आन्दोलनरत सातदलीय गठबन्धनले आज विरोध स्वरूप मोटरसाइकल र्‍याली आयोजना गर्ने भएको छ।

गठबन्धनले जनकपुरधामस्थित मधेश भवनबाट मध्यान्ह १२ बजे मोटरसाइकल र्‍याली सुरु गर्ने तयारी गरेको जनाएको छ। र्‍यालीमा गठबन्धनका कार्यकर्ता, युवाहरु र जनसमर्थकहरुको सहभागिता रहने बताइएको छ।

सातदलीय मोर्चाले हालको सरकार गठन संविधानविपरीत भएको आरोप लगाउँदै प्रदेशभर विरोध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। गठबन्धनले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति संविधानको धारा १६८९३० विपरीत भएको दाबी गर्दै त्यसको खारेजीको माग गर्दै आएको छ।

मोर्चाका नेताहरुका अनुसार, आजको र्‍याली संविधान र लोकतन्त्रको पक्षमा आवाज उठाउने अभियानको हिस्सा हो। उनीहरुले प्रदेश सरकार गठनको प्रक्रियामा संविधानको अपमान भएको भन्दै यसको प्रतिवाद जनाइरहेका छन्।

मोर्चा नेतृत्वले भनिएको छ , “संविधानविपरीत भएको यो कदमले लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुर्‍याएको छ। जनताको मत र जनादेशको अवमूल्यन हुने कार्य हामी स्वीकार गर्न सक्दैनौं।”

र्‍याली मधेश भवनबाट सुरु भएर जनकपुरधामको प्रमुख सडकहरू परिक्रमा गर्दै जनकचोकमा समाप्त हुने जनाइएको छ।

यसअघि गठबन्धनले विरोधसभाहरु, प्रेस विज्ञप्ति र विभिन्न जिल्लामा प्रदर्शन कार्यक्रम समेत सम्पन्न गरिसकेको छ। आन्दोलनरत मोर्चाले आन्दोलनलाई क्रमिक रूपमा व्यापक बनाउँदै संविधानको रक्षा र जनमतको सम्मान सुनिश्चित नहुन्जेल संघर्ष जारी राख्ने चेतावनी दिएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक २७, बिहीबार ०८:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको