जनकपुरधाम, भदौ ९ । जसपाका महासचिव डा. सुरेन्द्रकुमार झाले प्रदेशसभा सदस्यहरू सन्तोषकुमार पाण्डेय, हेमा वेल्वासे (केसी) र भण्डारीलाल अहिरलाई पत्र पठाउँदै सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका छन्।
पार्टीले लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गरेको अवस्थामा त्यसविपरीत सरकारको पक्षमा मतदान गरेको भन्दै यसअघि पनि तीनै सांसदसँग स्पष्टीकरण मागेको थियो।
तर, यसअघि प्राप्त स्पष्टीकरणको अध्ययन गर्दा सांसदहरूले दिएको जवाफ पार्टीको नीति, निर्णय र निर्देशनको भावनासँग मेल नखाएको जसपाले जनाएको छ। साथै, यसअघि उठाइएका प्रश्नको जवाफसमेत चित्तबुझ्दो र सन्तोषजनक नभएको पार्टीको निष्कर्ष छ।
त्यसपछि जसपाले तीनै सांसदलाई पुनः स्पष्टीकरण सोध्दै सात दिनभित्र जवाफ दिन समय दिएको हो।
पार्टीले पठाएको नयाँ स्पष्टीकरण पत्रमा तीन वटा प्रश्नको जवाफ स्पष्ट रूपमा पेस गर्न सांसदहरूलाई भनिएको छ। सांसदहरूको जवाफ प्राप्त भएपछि पार्टीले आवश्यक निर्णय लिने तयारी गरेको छ।






