जनकपुरधाम, मंसिर २ । मधेशको प्रदेशसभा बैठक बोलाउन ३२ जना विपक्षी सांसदहरूले उपसभामुख बबिता राउत ईसरलाई पत्र बुझाएका छन्। उनीहरूले सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको पदअनुकुल आचरण नगरेको प्रस्तावको छलफल अघि बढाउन प्रदेशसभा बैठक आह्वान गर्न माग गरेका हुन्।
विपक्षी दलको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले सांसदहरूको हस्ताक्षरसहित उपसभामुख समक्ष बैठक आह्वान गर्न लिखित आग्रह गरेका छन्। भरत साहका अनुसार, २५ प्रतिशत प्रदेशसभा सदस्यको मागमा बैठक बोलाउनुपर्ने प्रावधान रहेको छ।
पत्र बुझाउन प्रदेशसभा पुगेका जनता समाजवादी पार्टी नेपालका सचेतक रामअशिष यादवले सभामुखमाथि दर्ता गरिएको प्रस्तावको छलफल प्रक्रिया अगाडि बढाउनकालागि प्रदेशसभा बैठक आह्वान गर्न माग गरेको बताए ।
प्रदेशसभाबैठक आह्वान गर्ने मागमा सहभागी दलहरूमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्र रहेका छन्।
उक्त बैठक मंसिर ३ गते बुधबार बोलाउने प्रस्ताव गरिएको छ। विपक्षी सांसदहरूले बैठक आह्वान गर्दा सभामुखको कार्यप्रणालीमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने उद्देश्य राखिएको बताइएको छ।
यसअघि दर्ता भएको सभामुखविरुद्धको प्रस्तावलाई प्रदेशसभा बैठकमा उठाएर छलफल अगाडि बढाउने पक्षधर सांसदहरूले प्रदेशसभा आह्वानमा जोड दिएका छन्।
विपक्षी सांसदहरूको पहलले प्रदेशसभामा राजनीतिक प्रक्रिया सक्रिय बनाउने र सभामुखविरुद्धको प्रस्तावमा आवश्यक छलफल सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।




