‘विशेष महाधिवेशन केन्द्रीय समितिले नै बोलाउनु पर्नेमा शेखर गगन एकमत



काठमाण्डौ, मंसिर ३ । नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक मतभेदबीच संस्थापनइतर समूहले विशेष महाधिवेशन नै पार्टी निकासको प्रमुख विकल्प भएको निष्कर्ष निकालेका छन्। नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा मंगलबार भएको छलफलमा विशेष महाधिवेशनको निर्णय केन्द्रीय कार्यसमितिले नै गर्नुपर्ने धारणा सामूहिक रूपमा अघि सारिएको हो।

छलफलमा शेखर कोइराला, महामन्त्री गगनकुमार थापा , सहमन्त्री बद्री पाण्डे, सहमन्त्री जीवन परियार, विशेष महाधिवेशन पक्षधर देवराज चालिसे,
गुरु घिमिरे सहभागी थिए । उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा भने अनुपस्थित रहे।

नियमित महाधिवेशनको सम्भावना टर्दै गएपछि छलफलमा सहभागी नेताहरूका अनुसार नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था बनेको र हस्ताक्षर अभियानको दबाबलाई ध्यानमा राख्दै, केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुने निष्कर्ष निकालेका छन ।

विशेषमहाधिवेशन पक्षधर नेताहरूले हस्ताक्षर अभियानलाई प्रेसरका रूपमा केवल प्रयोग गर्नुपर्ने, प्रत्यक्ष रूपमा हस्ताक्षरमार्फत् महाधिवेशनमा जाने हो भने पार्टी फुट्ने जोखिम बढ्ने चेतावनी दिए।

विशेष महाधिवेशन अभियानका अगुवा देवराज चालिसेले छलफललाई उत्साहजनक भन्दै भने, “नियमित महाधिवेशनको सम्भावना लगभग समाप्त छ। अब विशेष महाधिवेशनमै जानेबारे विस्तृत छलफल भयो।”

गुरूराज घिमिरेले भने, “नेतृत्व परिवर्तनसहितको विशेष महाधिवेशन केन्द्रीय समितिले नै बोलायो भने हामीलाई आपत्ति छैन। नीति महाधिवेशनको अब कुनै औचित्य छैन।”

विशेष महाधिवेशन पक्षधरहरूलाई केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशन नै बोलाउँछ भन्ने विश्वास कमजोर रहेको छ।
त्यसैले उनीहरूको निष्कर्ष “निकासको एउटै विकल्प — विशेषमहाधिवेशन।” बनेको छ ।

शेखर कोइरालाको सचिवालयले छलफललाई ‘अनौपचारिक’ बताउँदै कोइराला अझै पनि नियमित महाधिवेशनको पक्षमा रहेको उल्लेख गरेको छ।

सचिव थपलियाका अनुसार, “मंसिरमा क्रियाशील सदस्यता समस्या समाधान, पुस अन्तिम सातासम्म नियमित महाधिवेशन गर्न सम्भव छ।”

तर नियमित सम्भव नहुने संकेत देखिएपछि शेखरले पनि केन्द्रीय समितिबाटै विशेष महाधिवेशनमा जान सकिने सुझाव राखेका थिए।

प्रकाशित मिति: २०८२ मंसिर ४, बुधवार १२:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको