जेल सजाय सुरु हुनुअघि नै ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो पक्राउ



एजेन्सी, मंसिर ७ । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई तख्तापलटको प्रयास गरेको अभियोगमा दिइएको २७ वर्षको जेल सजाय सुरु हुनु अगाडि नै फेडेरल प्रहरीले पक्राउ गरेको छ। उनलाई यसअघि नै घरमै नजरबन्द (हाउस अरेस्ट) मा राखिएको थियो।

सुप्रीम कोर्टको आदेशअनुसार शनिबार बिहान करिब ६ बजे राजधानी ब्रासिलियाको बोटानिको क्षेत्रमा रहेको घरबाट उनलाई पक्राउ गरी फेडेरल प्रहरी मुख्यालय लगिएको हो। बोल्सोनारोका निकट सहयोगी एन्ड्रीली सिरिनोले गिरफ्तारीको पुष्टि गरेका छन्।

ब्राजिलको सर्वोच्च अदालतले सार्वजनिक सुरक्षा र संवैधानिक व्यवस्थाका लागि खतरा हुन सक्ने भन्दै तुरुन्त कारबाही गर्न आदेश दिएको बताइएको छ। यद्यपि, जारी गरिएको आधिकारिक विज्ञप्तिमा बोल्सोनारोको नाम भने उल्लेख गरिएको छैन।

स्वास्थ्यका कारण घरमै सजाय माग

बोल्सोनारोका कानुन व्यवसायीहरूले उनको कमजोर स्वास्थ्य अवस्थालाई कारण देखाउँदै जेल होइन, घरमै सजाय भोग्न पाउने व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। तर अदालतले उक्त अपिल अस्वीकार गर्दै उनलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएको हो।

तख्तापलट प्रयासको मुद्दा हेर्दै आएका सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डे मोरेस सामान्यतया शनिबार निर्णय सुनाउने नगरे पनि सुरक्षा चिन्ताका कारण विशेष निर्णय गरिएको ब्राजिलियन सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित मिति: २०८२ मंसिर ८, आइतवार ०८:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको