तेज प्रताप यादवको आरजेडीमा पुनरागमनको चर्चा, सामाजिक सञ्जाल पोस्टले थप्यो हलचल



एजेन्सी, मंसिर १० । बिहारको राजनीतिक वृत्तमा फेरि एक पटक लालू यादव परिवार र राष्ट्रिय जनता दल (आरजेडी) सम्बन्धित विषयले चर्चा पाएको छ। पछिल्लो समय तेज प्रताप यादवको आरजेडीमा पुनरागमन हुन सक्ने सम्भावनाबारे विभिन्न अड्कलबाजी सुरु भएको छ। यो चर्चा तेज प्रतापको एक सामाजिक सञ्जाल (एक्स) पोस्टपछि थप चर्किएको हो।

राजदले गत नोभेम्बर २२ तारिखमा आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) खाताबाट एउटा पोस्ट साझा गरेको थियो, जसमा सासाराममा स्वतन्त्र प्रत्याशी रामनारायण पासवानको काउन्टिङ एजेन्ट रहेका दीपक प्रकाश चुनाव नलडी नै नीतीश सरकारमा मन्त्री बनेको भन्दै कटाक्ष गरिएको थियो। उक्त पोस्टलाई तेज प्रताप यादवले नोभेम्बर २४ मा आफ्नै एक्स खाताबाट सेयर गरेपछि राजनीतिक वृतमा विभिन्न अड्कलबाजी सुरु भएको हो।

यसअघि पारिवारिक विवादका कारण लालू यादवले तेज प्रतापलाई पार्टी र परिवारबाट बाहिर गरेका थिए। त्यसपछि तेज प्रताप यादवले ‘जनशक्ति जनता दल’ नामक नयाँ पार्टी गठन गरेका थिए र ४२ स्थानमा उम्मेदवार उठाएका थिए। तर चुनावमा एक पनि सिट जित्न नसकेपछि उनको राजनीतिक भविष्यबारे प्रश्न उठ्न थालेको थियो। उनी आफैं पनि महुआ सिटबाट पराजित भएका थिए।

अरू तर्फ, आरजेडीले चुनावमा ठूलो हार भोगेपछि रोहिणी आचार्यले राजनीतिबाट अलग हुने घोषणा गर्दै परिवारप्रति गम्भीर आरोपसमेत लगाएकी थिइन्। यसले लालू परिवारभित्रको आन्तरिक समस्या अझ सतहमा आएको देखिएको छ।

अब तेज प्रताप यादव फेरि पुरानै पार्टी र परिवारमा फर्कने हुन् अथवा आफ्नै बाटोमा अघि बढ्ने हुन् भन्ने विषयमा निर्णायक समय अझ आउन बाँकी नै छ। यद्यपि सामाजिक सञ्जाल गतिविधिले भने उनको सम्भावित पुनरागमनबारे राजनीतिक वृत्तमा चर्चा र चासो बढाएको छ।

प्रकाशित मिति: २०८२ मंसिर १०, बुधबार ०८:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको