ओलीलाई ज्ञवालीले भने– ‘तपाईंले नसक्ने भएपछि ईश्वरलाई अगाडि सारेका हौँ’



काठमाडौं ,मंसिर २२ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बदलिँदो युग र परिस्थिति अनुसार अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्न नसकेकाले ईश्वर पोखरेललाई अगाडि सारिएको बताएका छन्। सोमबार बागबजारस्थित होटल हार्दिकमा समूहले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ज्ञवालीले नयाँ नीति र नेतृत्वको आवश्यकता एमालेमा रहेको प्रष्ट पारे।

ज्ञवालीले भने, “साइन्स र टेक्नोलोजीको युगमा पुरानो नेतृत्वले नयाँ युगको माग पूरा गर्न सक्दैन। नयाँ नेतृत्वले छिटो अवसर ग्रहण गर्न सक्छ, पुरानाले भने सक्दैन। यसैले नयाँ तरिका र मूल्य मान्यता अनुसार नेतृत्व परिवर्तन आवश्यक छ।”



उहाँले स्पष्ट पारे, “आठौँ महाधिवेशनदेखि नयाँ नेतृत्व स्थापित गर्ने अभ्यास गर्न खोजे पनि सफल भएन। यस पटक हामी ईश्वर पोखरेललाई मात्र होइन, नयाँ मान्यता स्थापित गर्न चाहन्छौं। व्यक्ति होइन, नयाँ मान्यता अघि बढाउने हाम्रो लक्ष्य हो। ओलीले नयाँलाई स्वीकार नगरेपछि नेतृत्व परिवर्तनको बाटो अघि बढाएका हौँ।”

ज्ञवालीले सामूहिक नेतृत्व दस्तावेजमा लेखिएको भए पनि व्यवहारमा लागू नहुँदा असहमति उत्पन्न भएको बताए। “नीतिप्रधान प्रणाली दस्तावेजमा भए पनि नेताप्रधान अभ्यास भएपछि हाम्रो असहमति भयो। महाधिवेशनअघि परम्परागत प्रवृत्ति बदल्न हामी अठोटबद्ध भएका हौँ,” उनले जोड दिए।

उहाँले ओलीको समयमा केही राम्रा काम भएको स्वीकार गर्दै २३ र २४ भदौका घटनामा विदेशीलाई मात्र दोषी देखाएर नेतृत्वले जिम्मेवारी नगरेको बताए। ज्ञवालीका अनुसार, पार्टीले आफैंका कमजोरी पनि स्वीकार्नुपर्छ र नेतृत्वले चुनौतीहरूको सामना गर्न तयार रहनुपर्छ।

यस समूहको उद्देश्य एमालेमा सामूहिक नेतृत्व र नयाँ मान्यताको स्थापनामा जोड दिनु रहेको ज्ञवालीले बताए। आगामी महाधिवेशनमा यस दृष्टिकोणले पार्टीको रणनीति र नेतृत्व संरचनामा प्रभाव पार्ने देखिन्छ।

प्रकाशित मिति: २०८२ मंसिर २२, सोमबार १३:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको