एजेन्सी, मंसिर २२ । रूस–युक्रेन युद्ध अन्त्यका लागि शान्ति वार्ता जारी रहँदासमेत रूसी आक्रमण रोकिएका छैनन्। आइतबार भएका ड्रोन र मिसाइल प्रहारमा चर्निहीव क्षेत्रमा एक व्यक्तिको मृत्यु भएको युक्रेनले जनाएको छ।
रूसी सेनाले क्रेमेन्चुक शहरमा हवाई आक्रमण गरी ऊर्जा तथा खानेपानी सुविधामा ठूलो क्षति पुर्याएको छ। त्यससँगै युक्रेनका यातायात पूर्वाधार, इन्धन भण्डार तथा अन्य ऊर्जा–सम्बन्धी स्थापनाहरू पनि रूसी लक्ष्य बनेका छन्।
रूसले खार्किभ क्षेत्रका थप दुई गाउँमा नियन्त्रण जमाएको दाबी गरेको छ। यता, चलिरहेको शान्ति वार्तालाई ध्यान दिँदै अमेरिकासहितका देशहरूले आक्रमण रोक्न दुवै पक्षलाई अनुरोध गरिरहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा शान्ति स्थापनाका लागि “अब सिर्फ १० मिटरको सफर बाँकी रहेको” बताएका छन्। तर क्रेमलिनका अनुसार अमेरिकी शान्ति प्रस्तावमा “महत्वपूर्ण संशोधन” आवश्यक रहेको र सो कुरा अमेरिकी प्रतिनिधिलाई बुझाइसकिएको छ।

युक्रेनी अधिकारीहरूले रूसले ठण्डीयुक्त मौसमलाई ‘हथियार’ बनाउँदै जानाजानी ऊर्जा संजाल, जल आपूर्ति र महत्वपूर्ण नागरिक संरचनामा प्रहार गरिरहेको आरोप लगाएका छन्।
युद्ध अन्त्यका लागि अमेरिका र युक्रेनबीचको वार्ता तेस्रो दिन पनि जारी रह्यो।
युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेंस्कीले अमेरिकी प्रतिनिधिसँग फोनमार्फत ‘महत्वपूर्ण जानकारी’ प्राप्त भएको बताउँदै युक्रेन शान्ति स्थापना प्रति प्रतिबद्ध रहेको टिप्पणी गरेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार अब वार्ता डोनबास क्षेत्र र जापोरिजिया परमाणु संयन्त्रका मुद्दामा केन्द्रीत छ। रूसले हाल डोनबासको करिब ९० प्रतिशत भूभागमा नियन्त्रण जमाइसकेको छ भने जापोरिजिया परमाणु केन्द्र युद्ध सुरु भएको केही हप्तामै कब्जामा परेको थियो।








