काठमाडौं ,मंसिर २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राप्रपा नेपाल पार्टीबीच एकता वार्ता अन्तिम चरणमा पुगेको छ। दुवै दलका शीर्ष नेताहरू केही दिनदेखि घनिभूत छलफलमा रहेका छन्।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सार्वजनिक कार्यक्रममा भने, “सबै अनुकूल भएमा केही दिनभित्र खुसीको समाचार सुन्न पाइनेछ। सबै एकै ठाउँमा बसी बलियो शक्ति निर्माण गर्नु आजको आवश्यकता हो।” उनले जेन्जी फ्रण्टका अधुरो सपना पूरा गर्न राष्ट्रवादी शक्ति निर्माणमा जोड दिएका छन्।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालसँग छिट्टै सहमति हुने सम्भावना रहेको बताए। उनले अरू राष्ट्रवादी शक्तिहरूलाई पनि एक ठाउँमा ल्याउने प्रयास भइरहेको उल्लेख गरे।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा अध्यक्ष निर्वाचित भएपछि कमल थापाले पार्टीबाट अलग भएर राप्रपा नेपाल गठन गरेका थिए। तर, जेनजी आन्दोलन र बदलिँदो राजनीतिक परिस्थितिका कारण दुवै पक्षबीच निकटता बढेको छ।
एकता प्रयासका लागि गत २५ कात्तिकमा लिङ्देन र थापाबीच धुम्बाराहीमा वार्ता भएको थियो। त्यसअघि थापाले औपचारिक रूपमै एकता प्रस्ताव गरेका थिए। त्यसपछि पनि विभिन्न तहमा छलफल जारी रहेको र सकारात्मक रहेको राप्रपाका स्रोतले जानकारी दिएका छन्।
स्रोतका अनुसार, पार्टीको नाम, चुनाव चिह्न र विधान राप्रपाकै रहने गरी वार्ता भइरहेको छ। हाल लिङ्देन नेतृत्वको राप्रपाको चुनाव चिह्न गाई र थापाको राप्रपा नेपालको चुनाव चिह्न तीर हो। थापाले राप्रपाको नाम र चुनाव चिह्न स्वीकार गरेपछि वार्ता सकारात्मक भएको छ। तर नेतृत्वको विषय भने टुंगिन बाँकी रहेको छ।
यस एकताले राजावादी शक्ति केन्द्रलाई बलियो बनाउन र आगामी निर्वाचनमा प्रभावकारी भूमिका खेल्न मद्दत पुग्ने अनुमान गरिएको छ।




