गोवा नाइटक्लब आगलागीमा दुईजना सञ्चालक थाइल्यान्डमा पक्राउ, पाँच नेपालीको ज्यान गयो



काठमाडौँ, मंसिर २५ । गोवाको ‘बर्च बाइ रोमियो लेन’ नाइटक्लब मा आइतबार मध्यराततिर लागेको आगलागीमा पाँच जना नेपालीको ज्यान गएको छ। घटनामा संलग्न सौरभ र गौरव लुथरा नामका दाजुभाइ नाइटक्लबका सञ्चालकलाई थाइल्यान्डमा पक्राउ गरिएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ। उनीहरू घटनालगत्तै गोवाबाट फरार भएका थिए।

भारतीय दूतावासका अनुसार ज्यान गुमाउने पाँच नेपालीमध्ये सिन्धुलीका लीलबहादुर कटवाल, झापाका सविन विश्वकर्मा, दाङका चूर्णबहादुर पुन, डडेल्धुराका मनोज झोरा र टिकाराम विक रहेका छन्। चार जनाको शव मंगलबार र बुधबार नेपाल ल्याइएर अन्त्येष्टि गरिएको छ भने एकको शव भारतकै हरिद्वारमा अन्त्येष्टि गरिएको छ।



गोवा प्रहरीले आगो निभाउन उद्धार टोलीले प्रयास गरिरहेको बेलामा सञ्चालक दाजुभाइ देश छोडेर थाइल्यान्ड हिँडेका थिए। उनीहरूले ‘मेक माई ट्रिप’मार्फत आइतबार राति १स्१७ बजे हवाई टिकट बुक गरेका थिए। गोवा प्रहरीले पाँच जना नाइटक्लबका प्रबन्धक र कर्मचारीलाई समेत पक्राउ गरेको छ।

गोवा प्रदेशका मुख्यमन्त्री प्रमोद सावन्तले घटनाको छानबिन प्रतिवेदन आठ दिनभित्र सार्वजनिक हुने जानकारी दिएका छन्। भारतको परराष्ट्र मन्त्रालयले गोवा सरकारको अनुरोधमा अनुसन्धान गरिरहेको छ भने इन्टरपोलले सञ्चालक दाजुभाइविरुद्ध ब्लूकर्नर नोटिस जारी गरेको छ।

स्रोतका अनुसार दाजुभाइले नाइटक्लबको दैनिक सञ्चालन त्यहाँका कर्मचारीले हेर्ने भएकाले प्रत्यक्ष दोष उनीहरूमा नलगाउने तर्क गरेका छन्। तर प्रहरीले उनीहरूको भाग्ने योजना र घटनामा जिम्मेवारीलाई ध्यानमा राख्दै पक्राउ गरेको बताएको छ।

गोवा नाइटक्लब आगलागीले नेपालीहरू मात्र नभई विदेशी पर्यटकहरूलाई समेत त्रसित बनाएको छ। प्रारम्भिक अनुसन्धानले आगो केही मिनेटमै नाइटक्लबभरि फैलिएको देखाएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २५, बिहीबार १५:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको