निर्वाचन मा सशस्त्र प्रहरीको परिचालन नीति : दोस्रो घेरामा रहेर त्रुटिरहित सुरक्षा दिने तयारी



काठमाडौं , मंसिर २६ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले निर्वाचन सुरक्षा परिचालन नीति सार्वजनिक गरेको छ। सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाका अनुसार, निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन १७ बुँदे विस्तृत नीति तयार गरिएको छ।

नीतिअनुसार, निर्वाचन क्षेत्रभित्र पहिलो सुरक्षा घेरा स्थापनासँगै प्रहरीका स्ट्राइकिङ र मोबाइल टोलीहरू दोस्रो घेरामा परिचालित हुनेछन्। मोबाइल टोली चुनावको १५ दिनअघि नै परिचालनमा आउँनेछन् र जोखिमपूर्ण क्षेत्रहरूमा सतर्क रहँदै तत्काल प्रतिक्रिया दिने क्षमता राख्नेछन्।

डीआईजी थापाका अनुसार, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट फरार भएका कैदीबन्दी अझै नियन्त्रणमा नआएकाले निर्वाचन अघिल्लाभन्दा चुनौतीपूर्ण हुने आँकलन गरिएको छ। “हामीले सुरक्षा घेरा र टोली परिचालनको तयारी त्रुटिरहित बनाउन विशेष ध्यान दिइरहेका छौँ,” उनले भने।

सशस्त्र प्रहरीले मतदाता, उम्मेदवार, निर्वाचन कर्मचारी र जनताको भयरहित मतदान वातावरण सुनिश्चित गर्न रणनीतिक रूपमा तयारी अघि बढाएको छ। निर्वाचन क्षेत्रभित्र सुरक्षा बेस स्थापना गर्ने र सम्भावित जोखिम मूल्याङ्कन गरी तत्काल प्रतिक्रिया दिने व्यवस्था नीति अन्तर्गत उल्लेख छ।

थापाका अनुसार, सशस्त्र प्रहरी बलले आगामी दिनहरूमा मन्त्रालय, स्थानीय प्रशासन र अन्य सुरक्षा निकायसँग समन्वय गर्दै विस्तृत कार्ययोजना लागू गर्नेछ। यसअन्तर्गत मतपेटिका ढुवानी, मतदान केन्द्र सुरक्षा, र संवेदनशील क्षेत्र निगरानी मुख्य प्राथमिकतामा रहनेछ।

विश्लेषकहरूले पनि निर्वाचनअघि सुरक्षा बलको सक्रिय र व्यवस्थित परिचालनले मतदाता विश्वास र राजनीतिक स्थिरता दुवै कायम गर्न मद्दत पुग्ने बताउँछन्।

प्रकाशित मिति: २०८२ मंसिर २७, शुक्रवार १३:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको