भदौ २४ को जेनजी प्रदर्शनमा संलग्न पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर



काठमाडौँ ,मंसिर  २६ । भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ।

गृह मन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा देशभरका प्रहरी कार्यालयहरूमा ‘हाजिर जमानी’मा रिहा गर्न गोप्य सर्कुलर पठाइएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन्।

उपत्यका प्रहरीका अनुसार काठमाडौँको महाराजगञ्ज र कोटेश्वरमा प्रहरीमाथि हत्यासँग संलग्न व्यक्तिहरू बाहेक सबैलाई रिहा गर्न भनिएको छ।

भदौ २४ को आन्दोलनमा अहिलेसम्म ८७२ जना पक्राउ परेका छन् भने उनीहरूमाथि ३९५ थान मुद्दा दर्ता भएको छ।

यस अघि, मंसिर २४ मा जेनजी–सरकार बीच भएको १० बुँदे सम्झौताअनुसार, आन्दोलनमा संलग्न व्यक्तिलाई ज्यान मार्ने कसुर वा संगठित अपराधमा संलग्न नभए तत्काल रिहा गर्न तथा मुद्दा फिर्ता लिन सिफारिस गर्ने व्यवस्था गरिएको थियो।

सम्झौताको मस्यौदाकारका अनुसार, ढुङ्गा हानेर विरोध जनाउने वा सामान्य प्रतिरोधमा संलग्न व्यक्तिलाई फौजदारी मुद्दा नचलाउने सहमति भएको थियो।

तर, स्क्रिनिङ नगरी नै कसुरदारहरूलाई छाड्न सर्कुलर जारी भएपछि, प्रहरीका केही अधिकारीहरूले दण्डहीनताको प्रश्रय पाउने अवस्था सिर्जना भएको बताइन्छ।

यसअघि, असोज ९ मा पनि जेनजी प्रदर्शनमा संलग्न व्यक्तिहरूलाई स्क्रिनिङ गरी हाजिर जमानीमा रिहा गरिएको थियो। जेनजी–सरकार सम्झौतापछि गृह मन्त्रालयले दोस्रो पटक आन्दोलनमा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई रिहा गर्न आदेश दिएको हो।

सरकार र जेनजीबीचको यो कदमले आन्दोलन र सार्वजनिक सुरक्षा बीचको सन्तुलन कायम गर्ने प्रयासका रूपमा देखिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २७, शुक्रवार १६:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको