काठमाडौं ,मंसिर २६ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचन मिति हिमाली क्षेत्रमा पर्ने कठिनाइका कारण वैशाखमा सार्नुपर्ने सुझाव गरेका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत सरकार र जेन–जीबीच भएको सहमतिको स्वागत गर्दै निर्वाचन मिति पुनः निर्धारणबारे खुला रूपमा प्रस्ताव राखेका हुन्।
शर्माले हाल चलिरहेको सहमति–दस्तावेज कार्यान्वयनका प्रक्रियामा समय आवश्यक पर्ने उल्लेख गर्दै भनेका छन्, “दस्तावेज कार्यान्वयनका क्रममा फागुन २१ को मिति बाधक बन्नुहुँदैन। मुख्य कुरा संविधान र समाधान हो।” उनका अनुसार जेन–जी समूहलाई प्रणालीभित्र आण्टिन, विश्वसनीय चुनावी वातावरण बनाउने तथा हिमाली भूभागका मतदातालाई सहज बनाउने उद्देश्यले निर्वाचन केही पर सारेर वैशाखमा लैजानु स्वाभाविक हुन सक्छ।
सहमतिको स्वागत गर्दै शर्माले प्रमुख राजनीतिक दलहरूलाई पर्याप्त स्वामित्व नदिएकोमा पनि प्रश्न उठाए। उनले लेखे, “विभिन्न आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्ने सहमति महत्त्वपूर्ण छ। तर सहमतिमा दलहरूको स्वामित्व सुनिश्चित गर्न सरकारले चुक्यो। लोकतन्त्रका मुख्य सारथी राजनीतिक दलहरूलाई अपनत्वमा गाँस्न करिनैपथ्र्यो।”
उनले जेन–जी आन्दोलनले अघि सारेको सुशासनको संकल्प अब सबै दल र नेतृत्वको साझा जिम्मेवारी बन्नुपर्ने बताएका छन्। आगामी कार्यान्वयन चरणमा सरकारले पूर्ण गम्भीरता देखाउनुपर्ने उनको आग्रह छ।
शर्माले भदौ २३ गते भएको बल प्रयोग तथा भदौ २४ गतेको ध्वंससम्बन्धी घटनामाथि गहिरो छानबिन र निष्पक्ष कारबाही गर्न राज्य अग्रसर हुनुपर्ने पनि स्पष्ट पारे। “अब प्रारम्भिक कार्यान्वयनमा कुनै मोलाहिजा हुनु हुँदैन,” उनले लेखेका छन्।




