प्रतिनिधिसभा पुनर्स्थापना गरी छोड्छौँ भन्ने ओलीलाई एमालेकै मञ्चबाट कांग्रेस को जवाफ



काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेस ले प्रतिनिधिसभा पुनर्स्थापना गराइछोड्ने उद्घोष गरेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति फरक धारणा सार्वजनिक गरेको छ। एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहकै मञ्चबाट कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आधिकारिक दृष्टिकोण स्पष्ट पारेका हुन्।

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा प्रतिबद्ध नरहेको आरोप लगाउँदै प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अर्को विकल्प नरहेको दाबी गरेका थिए। तर शुभकामना मन्तव्यका क्रममा कांग्रेस कार्यवाहक सभापति खड्काले ओलीको भनाइसँग असहमति जनाए।

खड्काले प्रतिनिधिसभा विघटन तत्काल असंवैधानिक र सर्वोच्च अदालतका पूर्व नजिरविपरीत रहेको मत कांग्रेसले पहिल्यै राखिसकेको स्पष्ट पारे। यद्यपि संवैधानिक निकासको अन्तिम मार्ग सर्वोच्च अदालतले नै तय गर्ने भन्दै कांग्रेसले अदालतको निर्णय कुर्दै निर्वाचनको बाटोमा अघि बढ्ने निर्णय गरेको बताए।

“प्रतिनिधिसभा विघटन असंवैधानिक र नजिरविपरीत भएको हाम्रो स्पष्ट धारणा हो,” खड्काले भने, “तर संवैधानिक निकासको मार्ग सर्वोच्च अदालतले तय गर्ने भएकाले हामी त्यसलाई कुर्दै निर्वाचनको प्रक्रियामा जान चाहन्छौँ।”

उद्घाटन समारोहमा ओलीले बहुमत ल्याउने क्षमता भएको एमाले चुनावबाट नभाग्ने दोहोर्‍याए। तर २१ फागुनमा हुने भनिएको निर्वाचनमा सहभागी हुने विषयमा भने स्पष्ट प्रतिबद्धता जनाएनन्। बरु अहिले चुनावको चर्चा मात्रै भइरहेको र सरकार चुनाव गराउने बाटोमा नहिँडेको उनको आरोप थियो।

सरकार निर्वाचनमा प्रतिबद्ध नभएकै कारण प्रतिनिधिसभा पुनर्स्थापनाको बाटोमा एमाले उभिनुपरेको ओलीको तर्क छ। एमाले र कांग्रेसका फरक–फरक धारणा सार्वजनिक रूपमा देखिएसँगै प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी राजनीतिक बहस थप चर्किने देखिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २८, शनिवार १६:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको