वीरगञ्ज (पर्सा),मङ्सिर २८ । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोक नजिकै रहेको बिपी उद्यान अतिक्रमण गरी अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ ।
मुख्य सहरको सौन्दर्यकरण, सार्वजनिक स्थान संरक्षण र पैदलयात्रीको सहज आवागमन सुनिश्चित गर्न महानगरले उक्त अभियान सञ्चालन गरेको हो ।
महानगरको नेतृत्वमा गरिएको अनुगमन तथा हटाउने क्रममा बिपी उद्यान क्षेत्रभित्र अव्यवस्थित रूपमा राखिएका फलफूल, तरकारी, खाद्यान्न तथा अन्य साना पसल हटाइएको छ । लामो समयदेखि उद्यान क्षेत्र अतिक्रमण गरी व्यवसाय सञ्चालन हुँदा पार्कको मौलिक स्वरूप बिग्रिनुका साथै सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको थियो ।
महानगरका अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकाले अतिक्रमण हटाउने निर्णय गरिएको हो । यसअघि पनि पटक–पटक सूचना जारी गरी स्वेच्छिक रूपमा हट्न आग्रह गरिएको भए पनि बेवास्ता भएपछि बाध्य भएर कारबाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।
कारबाहीका क्रममा महानगर प्रहरी, ट्राफिक प्रहरी तथा सम्बन्धित शाखाका कर्मचारी परिचालन गरिएको थियो । अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै अप्रिय घटना नघटेको महानगरले जनाएको छ । हटाइएका पसलका सामग्री सुरक्षित स्थानमा राखिएको र सम्बन्धित व्यवसायीलाई जानकारी दिइएको बताइएको छ ।
महानगरपालिकाले आगामी दिनमा पनि सार्वजनिक पार्क, सडक, फुटपाथ तथा खुला स्थान अतिक्रमणमुक्त बनाउने अभियानलाई निरन्तरता दिने स्पष्ट पारेको छ । साथै वैकल्पिक व्यवस्था खोज्न व्यवसायीहरूसँग छलफल गरिने र नियमअनुसार व्यवस्थित रूपमा व्यापार सञ्चालन गर्न सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
स्थानीय बासिन्दाले बिपी उद्यानजस्तो सार्वजनिक स्थल अतिक्रमणमुक्त भएपछि सहरको सुन्दरता बढ्ने र सर्वसाधारणलाई सहज हुने भन्दै महानगरको कदमको स्वागत गरेका छन् ।






