काठमाडौं ,मंसिर २८ । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार सुनको मूल्यले दुई महिनाअघिको रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । आइतबारको मूल्य त्यसलाई समेत उछिन्दै हालसम्मकै महँगो बनेको हो ।
अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको महासंघले जनाएको छ । शनिबार प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको उतार–चढाव र अमेरिकी डलरको मूल्यवृद्धिका कारण स्वदेशी बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्यले अझै कात्तिक ३ गते ९अक्टोबर २०० को रेकर्ड तोड्न सकेको छैन । सो दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलरसम्म पुगेको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस करिब ४ हजार ३०० अमेरिकी डलर आसपास रहेको छ । तिहारको बिदाका कारण कात्तिक ४ देखि ८ गतेसम्म नेपालमा सुनको मूल्य समायोजन हुन सकेको थिएन ।
महासंघका अनुसार अमेरिकी डलरको मूल्य वृद्धि, अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा आन्तरिक मागका कारण नेपालमा अन्तर्राष्ट्रिय बजारभन्दा छिटो सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
यसैबीच चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको चाँदीको मूल्य आइतबार ८० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ८२५ रुपैयाँमा झरेको छ । चाँदीको मूल्यमा आएको गिरावटलाई सामान्य मूल्य समायोजनका रूपमा हेरिएको छ ।




