काठमाडौं, मंसिर २८। संखुवासभा मा एक पुरुषले आफ्नी पत्नीको हत्या गरी शव गाडेपछि आफै हराएको भन्दै प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
मादी नगरपालिका–६ बस्ने ४९ वर्षीय प्रेम दोर्ची शेर्पामाथि आफ्नी ३७ वर्षीया श्रीमती मिना शेर्पाको हत्या गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार मंसिर ९ गते प्रेमले आफ्नी श्रीमती हराएको भनेर निवेदन दिएका थिए।
निवेदन पेस गरेपछि अनुसन्धानका क्रममा प्रेम शंकास्पद देखिए र प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकारेका छन्। प्रहरीका अनुसार, “मंसिर ९ गते राति अन्दाजी साढे १० बजे ओखरेबोटे बजारबाट घर फर्किने क्रममा दुवैबीच विवाद भयो र बाटैमा कुटपिट गरी हत्या गरेको हो। हत्या पछि उनले शवलाई आफ्नै अलैची बारीमा त्रिपालमा बेरेर खाल्डोमा गाडेका थिए।”
यसपछि इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमाण्डमा टोली खटाएर शव निकालिएको थियो। प्रहरीले शव सडिसकेको अवस्थामा फेला पारेको जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धानका लागि प्रेम दोर्चीमाथि कर्तव्य ज्यान कसुरमा जिल्ला अदालतले म्याद थप गरेको छ। प्रहरीले घटनाको विस्तृत कारण र अन्य संभावित पक्षहरूको अनुसन्धान जारी राखेको छ।




