एमाले केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौं ,मंसिर २८ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि काठमाडौंको भृकुटीमण्डपमा बैठक बसेको हो । यो बैठक हालको कार्यकालको अन्तिम केन्द्रीय कमिटी बैठक रहेको पार्टीले जनाएको छ ।

बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा महाधिवेशनको बन्दसत्रसँग सम्बन्धित कार्यक्रमबारे महत्वपूर्ण छलफल हुने केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । विधान संशोधनका प्रस्ताव, नेतृत्व चयन प्रक्रिया र आगामी राजनीतिक कार्यदिशाबारे पनि केन्द्रीय कमिटीमा गहन छलफल हुने बताइएको छ ।

यसअघि भक्तपुरको सल्लाघारीमा औपचारिक रूपमा उद्घाटन गरिएको ११औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा आयोजना गरिँदैछ । बन्दसत्र बिहानै सुरु गर्ने तयारी भए पनि प्राविधिक तथा व्यवस्थापन कारण दिउँसो १ बजेका लागि सारिएको छ ।

बन्दसत्रमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि छलफल हुने तथा त्यसपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढाइने तयारी रहेको एमाले स्रोतले जनाएको छ । महाधिवेशनलाई पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

केन्द्रीय कमिटी बैठकले बन्दसत्रका एजेन्डा, छलफलको कार्यसूची र कार्यविधिलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ । साथै पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको कामकारबाही र आगामी रणनीतिबारे पार्टी नेतृत्वबीच साझा धारणा बनाउने उद्देश्य बैठकको रहेको बताइएको छ ।

एमालेको ११औँ महाधिवेशनमा देशभरबाट हजारौँ प्रतिनिधि सहभागी छन् । महाधिवेशनले पार्टी नेतृत्व र संरचनामा महत्वपूर्ण निर्णय गर्ने भएकाले राजनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति: २०८२ मंसिर २९, आइतवार ११:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको