जनकपुरधाम , मंसिर २९ । मधेश प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनमत पार्टीबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय बाँडफाँट गर्दै एक–एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल गठबन्धनमा सहभागी सात दलबाट प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । बैठकले आगामी पुस ४ गते मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय पनि गरेको छ ।
मुख्यमन्त्री यादव गत मङ्सिर १९ गते छ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मङ्सिर २१ गते प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको सपथ लिएका थिए । सपथलगत्तै उनले प्रारम्भिक रूपमा तीन दलबाट तीन जना मन्त्री नियुक्त गरेका थिए ।
जनमत पार्टीबाट संसदीय दलका नेता महेशप्रसाद यादव अर्थमन्त्री बनेका छन् । त्यस्तै, नेपाली कांग्रेसबाट जङ्गीलाल राय यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेललाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको थियो । सातदलीय गठबन्धनभित्र मन्त्रालयको भागबण्डा नमिल्दा ती दुई मन्त्री हालसम्म पनि बिना विभागीय अवस्थामा छन् ।
गठबन्धनभित्र लामो समयदेखि मन्त्रालय बाँडफाँटमा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार ढिलाइ हुँदै आएको थियो । तर आजको बैठकपछि सहमति जुटेपछि मुख्यमन्त्री यादवले दुवै बिना विभागीय मन्त्रीलाई मन्त्रालयसहित जिम्मेवारी दिने र बाँकी दलहरूबाट समेत मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
मन्त्रिपरिषद् विस्तारपछि मुख्यमन्त्री यादवले सरकारलाई स्थायित्व दिन पुस ४ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । गठबन्धनका नेताहरूले आवश्यक संख्याबल रहेको दाबी गर्दै विश्वासको मत सहजै प्राप्त हुने बताएका छन् । मन्त्रिपरिषद् विस्तार र विश्वासको मतसँगै मधेश प्रदेशको राजनीतिक अस्थिरता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।






