काठमाडौं ,पुस १ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सभापति शेरबहादुर देउवासँग पार्टी आन्तरिक विषयमा छलफल गरेका छन्।
कोइराला र रिजाल सभापति देउवा निवास, महाराजगञ्ज पुगेका थिए। उनीहरू भेटमा विशेषगरी केन्द्रीय कार्यालयले जिल्लाहरूमा पठाएको नम्बरबिनाका क्रियाशील सदस्यता फारम र पार्टी अनुशासनसँग सम्बन्धित विषयमा छलफल गरे।
नेता कोइरालाका सचिवालयका अनुसार, कोइरालाले सभापति देउवालाई बताए कि सुदूरपश्चिमका विभिन्न जिल्लामा बिना नम्बरका सदस्यता फारम पुगेपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ। उनले ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन आग्रह गरेका छन्।
त्यसैगरी, अनुशासन समितिले गरेको कारबाही सिफारिससम्बन्धी विषयमा पनि ध्यानाकर्षण गराएका छन्। कोइरालाले सबै कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आगामी आम निर्वाचनका लागि सबै नेता र कार्यकर्तालाई सक्रिय गराउन निर्देशन दिनुपर्ने सुझाव सभापतिसमक्ष राखेका छन्।
भेटपछि, कांग्रेस आन्तरिक प्रक्रियामा सुधार र विवाद समाधानका पहलहरू अगाडि बढाउने आशा गरिएको छ।




